विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्धसँगै सौन्दर्यकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् ।
आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यकरणका लागि प्रथमिकताका साथ बजेट विनियोजन गर्ने र संघ र स्थानीय सरकारबीच समन्वय गरी नमूना एकीकृत योजनाको निर्माण गर्ने बताएका हुन् ।
विराटनगर महानगरपालिका दुहबी नगरपालिका, बुढीगंगा गाउँपालिका र बर्जु गाउँपालिकाका प्रमुख, उपप्रमुख तथा नदीले छोएका वडाका वडाध्यक्षसहित स्विस सरकारका प्रतिनिधिहरुसँग सो विषयमा वृहत् छलफल भएको हो ।
विराटनगर महानगरपालिकाका वडा नं. ४, ५, ६, ११, १२, १६ लाई छुँदै केशलीया नदी दक्षिणतर्फ बगेको छ । सो नदीले बुढीगंगा गाउँपालिकाका वडा नं. २, ३, र ४ तथा बर्जु गाउँपालिकाका वडा नं. १, २ र ३ लाई छुन्छ ।
स्विस सरकारको सहयोगमा केशलीया तटबन्ध निर्माण लगायत सौन्दर्यकरण कामको बृहत् गुरुयोजना तथा विस्तृत परियोजना प्रस्ताव स्विस सरकारको सहयोगमा भइरहेको छ ।
मुख्यमन्त्री कार्कीले केशलीया नदीको एकीकृत विकासले कोशी प्रदेश साझेदारीको पर्यटन तथा कृषिमा समेत टेवा पुर्याउने भन्दै यसका लागि संघ, प्रदेश र स्थानीय सरकार बीचको सहकार्य जरुरी रहेको औंल्याए । उनले नदी मानव जीवनसँग जन्मदेखि मृत्युसम्म जोडिएको हुनाले यसको संरक्षणसँगै सौन्दर्यकरण गर्नसके आर्थिक लाभसमेत लिन सकिने बताए ।
छलफल कार्यक्रममा स्विस सरकारका परामर्शदाता महेन्द्र सुब्बाले अहिलेसम्म भएका काम र बाँकी काम सम्पन्न गर्न आइपर्ने चुनौतीका बारेमा विस्तृत जानकारी गराएका थिए । उनले केशलीया कोरिडोरलाई अगाडि बढाउन प्रदेश सरकारले देखाएको चासो र स्थानीय सरकारहरूले देखाएको उत्साहले परिणाम ल्याउनेमा विश्वास पनि व्यक्त गरे ।
कार्यक्रममा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, दुहबी नगरपालिकाका प्रमुख वेदनारायण गच्छदार, बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगर, बर्जु गाउँपालिकाका अध्यक्ष जिवछकुमार रायसहित ती पालिकाबाट उपप्रमुख, उपाध्यक्ष तथा वडाध्यक्षहरूको सहभागिता थियो ।