विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलले दलका नेता उद्धव थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको छ । सोमबार बसेको संसदीय दलको बैठकले उनले दिएको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको हो । दलको निर्णयपछि थापा पुरानै जिम्मेवारीमा फर्किएका छन् ।
संसदीय दलको बैठकमा मुख्यमन्त्री केदार कार्कीले पनि थापालाई राजीनामा फिर्ता लिएर जिम्मेवारीमा फर्कन आग्रह गरेका थिए । दलको बैठकपछि थापाले आफू जिम्मेवारीमा फर्किएको बताए । राजनीति ट्याकमा आएका कारण सबै आफ्नो जिम्मेवारीमा फर्कने उनले बताए ।
बैठकले यसअघि राजीनामा दिएका उपनेता हिमाल कार्की र प्रमुख सचेतक भूपेन्द्र राईलाई पनि जिम्मेवारीमा फर्कन आग्रह गरेको थियो । उनीहरू पनि जिम्मेवारी फर्कने थापाले बताए ।
प्रदेश प्रमुखले संविधानको धारा १६८ को ५ अनुसार सरकार गठनको आह्वान गरेपछि सत्तारुढ गठबन्धनले प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बोलाई अघि सार्ने निर्णय गरेको थियो । तर कांग्रेसका ८ सांसदसहित विद्रोह गर्दै केदार कार्की २७ असोजमा एमालेको समर्थनमा मुख्यमन्त्री बने ।
पार्टीको निर्णय कार्यान्वयन गर्न नसकेको भन्दै थापाले नैतिकताका आधारमा २८ असोजमा दलको नेताबाट राजीनामा दिएका थिए । केन्द्रीय नेतृत्वको आग्रह र दलको बैठकको निर्णयपछि जिम्मेवारी फर्किएको उनले बताए ।