झापा । सहारा नेपाल बचत तथा ऋण सहकरी संस्था लिमिटेडको २७औं वार्षिक साधारणसभा अन्तरगत अन्तिम माइन्युट प्रमाणीकरण भेला आज बिर्तामोडमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा आयोजित समारोहमा संस्थाले राष्ट्रिय सहकारी व्यक्तित्व पुरस्कार अग्रज सहकारी अभियन्ता भक्तपुर निवासी कैलाशभक्त प्रधानाङ्गलाई प्रदान गरेको छ ।
शेयर पुँजी, निक्षेप कारोबार, सदस्य संख्या, सदस्य संरक्षण र समुदायतर्फको चासो लगायतको हिसाबले नेपालकै सबैभन्दा ठूलो र उत्कृष्ट सहकारी संस्था सहारा नेपाल साकोसले एक लाख एक हजार रुपैयाँ राशीको उक्त पुरस्कार प्रधानाङ्गलाई प्रदान गरेको हो ।
हरेक २–२ वर्षमा वितरण गरिने उक्त पुरस्कारबाट यसअघि लघुवित्त विज्ञ शंकरमान श्रेष्ठ र राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष केशवप्रसाद बडाललाई पुरस्कृत गरिएको थियो ।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित अन्तिम माइन्युट प्रमाणित साधारण सभामा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै सभामुख घिमिरेले सहारा नेपालले सदस्य र समुदायका लागि गरिरहेको रचनात्मक कार्यको मुक्तकण्ठले प्रशंसा गरे ।
समाजवादउन्मुख नेपालका लागि सहकारी अभियानले कोशेढुंगाको काम गरिरहेको बताउँदै सभामुख घिमिरेले सहारा नेपाल साकोसले आपत विपतमा परेकाहरुका लागि नाम अनुसारको सहारा प्रदान गरिरहेको पाउँदा आफूलाई खुसी लागेको बताए ।
सहकारी संस्थाहरु स्वनियमनमा चल्ने ‘मिनी स्टेट’ हुन् तर सरकारी तवरबाट अनुगमन नियमनका नाममा नियन्त्रणका प्रयास भइरहेको आफूलाई रिपोर्टिङ आएको जनाउँदै सभामुख घिमिरेले ऐनअनुसार विधिपूर्वक सञ्चालन भइरहेका सहकारीमाथि अंकुश लगाउन नहुने प्रष्ट पारेका छन् ।
सो समारोहमा राष्ट्रिय सहकारी व्यक्तित्व पुरस्कार प्राप्त गरेका सहकारी विज्ञ प्रधानाङ्गले काठमाडौं उपत्यकामा सञ्चालित केही सहकारी संस्थाहरुले सहकारी अभियानमा कालो दाग लगाइदिएको टिप्पणी गरे ।
सहाराले आफूलाई पुरस्कृत गरेको आभार प्रकट गर्दै प्रधानाङ्गले सहकारी अभियानले गरिबलाई सहारा नेपालले जस्तै आर्थिकरुपमा माथि उठाउनुपर्ने बताए । तर काठमाडौंमा खुलेका केही सहकारीले गरिबको रकम खाएर भागेर अभियानमाथि नै कलङ्कको टिका लगाइदिएको उनको टिप्पणी छ ।
सो समारोहमा एभिन्यूज टेलिभिजनका झापा संवाददाता सन्तोष न्यौपानेलाई २५ हजार रुपैयाँसहित सहारा सहकारी पत्रकारिता पुरस्कार प्रदान गरिएको थियो ।
संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले उक्त समारोहमा २७औं वार्षिक साधारणसभाको इकाई भेलादेखि आजसम्मको कार्यक्रमहरुका बारेमा हललाई अवगत गराएका थिए । उनले संस्थाले चालू आर्थिक वर्षबाट थालनी गरिने विभिन्न रचनात्मक कार्यक्रमहरु समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
पत्रकार केशव भट्टराईले सञ्चालन गरेको सो समारोहमा सहकारीकर्मीहरु गणेश ढकाल, घनश्याम अधिकारी, निमित्त प्रदेश रजिष्ट्रार हरिबहादुर खत्री, गौरीगञ्ज गाउँपालिकाका अध्यक्ष फूलवती राजवंशी, रेडक्रसकर्मी लोकराज ढकाल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।