२०८१ कार्तिक २९, बिहिवार , ०१:३२:५० बजे

Sajhamanch
'

सहकारी र लघुवित्तको ऋण तिर्न पर्दैन भन्ने भ्रम नफैलाउन सरोकारवाला समूहलाई सांसद कार्कीको चेतावनी

शुक्रवार, कार्तिक १७, २०८०

बिर्तामोड । झापाको बिर्ताबजार सैनिकमोडस्थित विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ ।

कोशी प्रदेशसभाका सदस्य तथा पूर्वमन्त्री एकराज कार्कीको प्रमुख आतिथ्यमा सम्मान तथा पुरस्कार हस्तान्तरणसहित वार्षिक साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभा समारोहमा मन्तब्य राख्दै प्रमुख अतिथि कार्कीले सहकारी संस्थामा बचत गर्ने पनि सदस्य र कर्जा लिने पनि सदस्य नै हुने भएकाले कहीँ कतैबाट ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न ऋणि सदस्यहरुलाई सुझाए । सहकारी र लघुवित्तबाट लिएको ऋण तिर्न पर्दैन भनेर प्रचार गर्दै हिड्ने समूहलाई लक्षित गर्दै उनले यस्तो अफवाह नफैलाउन चेतावनी पनि दिए ।

विराट बहुउद्देश्यीय सहकारी संस्था स्थापनाको पृष्ठभूमि केलाउँदै प्रदेशसभा सदस्य कार्कीले भने, ‘यो संस्था समूहबाट सहकारीमा रुपान्तरित भएको हो, सुरुमै ७०० भन्दा बढी सदस्यहरु भएको यो संस्थामा महिलाको संख्या उल्लेख्य रहेकाले अबको नेतृत्व चयन गर्दा कम्तीमा संविधानको अवधारणा ख्याल गर्न मेरो आग्रह छ ।’

संस्थाले आफ्ना सदस्यहरुलाई जन्मेदेखि मृत्युसम्मका अनेक घटनामा अभिभावकत्व प्रदान गरिरहेकोमा आभार प्रकट गर्दै पूर्वमन्त्री कार्कीले सामाजिक उत्तरदायित्वतर्फ पनि लगानी गरिरहेको पाउँदा खुसी लागेको बताए ।

संस्थाका अध्यक्ष मोहन सिवाकोटीको अध्यक्षतामा सम्पन्न वार्षिक साधारणसभामा संस्थाको वार्षिक प्रगति प्रतिवेदन वाचन गरेका थिए । संस्था स्थापनाको १८औं वर्षसम्म आइपुग्दा विराट बहुउद्देश्यीय सहकारी संस्थामा कूल ३ हजार ५३८ जना शेयर सदस्यहरुले कारोबार गरिरहेको उनले बताए ।

संस्थाको कूल शेयर पूँजी ६ करोड ४२ लाख ६६ हजार १०० रुपैयाँ रहेको जनाउँदै अध्यक्ष सिवाकोटीले गत असार मसान्तमा संस्थाको वासलात ४७ करोड ८८ लाख २९ हजार ३४ रुपैयाँ पुर्याइएको जनाए । समीक्षा वर्षमा संस्थाले ६१ लाख ३६ हजार ८३४ रुपैयाँ खुद नाफा कमाएको छ । संस्थाले गत आर्थिक वर्षको कारोबारमा सदस्यहरुलाई ५ प्रतिशत सेयर बोनस र कारोबारी सदस्यहरुलाई ३ प्रतिशत संरक्षित पुँजी फिर्ता कोष प्रदान गर्ने सर्वसम्मत पारित गरेको छ ।
संस्थाका प्रबन्धक रुद्र सिटौलाले सञ्चालन गरेको साधारणसभा समारोहमा संस्थाका लेखा सुपरीवेक्षण समितिका संयोजक केशवराज पाठकले विभागीय प्रतिवेदन वाचन गरेका थिए ।

वार्षिक साधारणसभा समारोहमा पूर्व उपाध्यक्ष स्व. पर्शुराम सिटौलाको स्मृतिमा स्थापित पुरस्कार यसवर्ष समाजसेवी डिल्ली प्रसाईलाई प्रदान गरिएको छ । विराट भरत विश्रान्तिका अध्यक्ष प्रसाईलाई ११ हजार १११ रुपैयाँको पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी उत्कृष्ट बचतकर्ता द्रौपदाकुमारी गणेश, उत्कष्ट ऋणी अमिता ढुंगाना र उत्कृष्ट कर्मचारीको रुपमा बजार प्रतिनिधि छत्र तिम्सिनालाई नगदसहित सम्मान गरिएको थियो ।

संस्थाका उपाध्यक्ष होम सिटौलाले शाब्दिक स्वागत गरेको साधारणसभा समारोहमा सेयर सदस्य केदार घलेले स्वागत गीत गाएका थिए भने गायक आयुष घिमिरे र प्रतिक ढकालले विभिन्न गीतहरु गाएका थिए ।

सो समारोहमा पूर्वमन्त्री खगेन्द्र प्रसाईं, संस्थाको प्रमुख सल्लाहकार उमानाथ ओली, जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का, बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, शिक्षासेवी टंक सेढाई र संस्थाका सचिव गणेश बिमलीले आ–आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खबर