२०८१ फागुन ७, बुधवार , ०३:१९:०० बजे

Sajhamanch
'

जलवायु परिवर्तनको मुख्य कारक विकसित राष्ट्र हुन् तर नेपालले परिणाम भोग्नु परेको छ: महासचिव गुटेरेस

मङ्गलवार, कार्तिक १४, २०८०

पोखरा । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनमा नेपालको कुनै हात नभए पनि नतिजा भोग्नुपरेको बताएका छन्।

समुन्द्री सतहदेखि ४ हजार १ सय ३० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेर गुटेरेसले भने, ‘जलवायु परिवर्तनको मुख्य कारक विकसित र औधोगिक राष्ट्र हो, यसमा नेपालको कुनै हात छैन। धनी राष्ट्रले गर्दा जलवायु परिवर्तन भइरहेको छ, तर त्यसको नतिजा नेपालले भोग्नुपरेको छ।’

नेपाली सेनाको हेलिकप्टरबाट मंगलबार अन्नपूर्ण हिमाल फेदी एबिसी पुगेका गुटेरेसले जलवायु परिवर्तनका असरबारे स्थानीयसँग कुराकानी गरेका थिए।

कास्कीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जलवायु परिवर्तनका कारण बढेका समस्याबारे जानकारी गराएका थिए भने एबिसी पर्ने वडा नम्बर ११ का वडाध्यक्ष हिमबहादुर गुरुङले आफू सानो छँदा हिमाली खर्कमा भेडा चराउन जाँदाको अनुभव सुनाएका थिए।

स्थानीयको समस्या सुनेपछि गुटेरेसले जलवायु परिवर्तनका कारण हिमालमा रहेका हिउँ तीब्र गतिमा पग्लिरहेको बताए। हिउँ पग्लेर बाढी, पहिरोजस्ता समस्या बढेको भन्दै उनले यसले समुदायमा असर पारेको बताए।

जलवायु परितर्वनका असरबारे सन्देश दिन आफू एबिसी आएको उनले बताए।

‘हिमनदी पग्लेर आएको बाढी, पहिरोले समुदायमा क्षति पुर्‍याएको छ। औधोगिक राष्ट्रले गर्दा जलवायुमा परेको असरबारे सन्देश दिन म यहाँ आएको हुँ,’ उनले भने।

अन्नपूर्ण आधार शिविरबाट फर्किएपछि गुटेरेसले पोखरामा पत्रकारहरूसँग कुरा गर्दै हिमाल र हिमनदी जोगाउन विश्व समुदायलाई अपिल गर्ने बताएका थिए।

जलवायु संकटबाट पीडित बनेका समुदायको सुरक्षा गर्न जलवायु अनुकूलनका कोष बनाएको भन्दै उनले त्यसको सदुपयोग गर्नुपर्ने बताए।

सम्बन्धित खबर