२०८१ माघ १५, मङ्गलवार , ०९:०७:२३ बजे

Sajhamanch
'

कोशीमा मन्त्रिपरिषद् विस्तारबारे कांग्रेस एमालेबिच छलफल

सोमवार, कार्तिक १३, २०८०

विराटनगर । कोशी प्रदेशमा मन्त्रिपरिषद् विस्तारबारे एमाले र कांग्रेसबिच छलफल भएको छ। सोमबार विराटनगरमा मन्त्रिपरिषद् विस्तारगर्नेबारे दुई दलका नेताहरूबिच छलफल भएको हो।

छलफलमा कांग्रेसका तर्फबाट मुख्यमन्त्री केदार कार्की, मन्त्री शमशेर राई र एमालेका तर्फबाट एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारी र मन्त्री रामबहादुर मगर सहभागी भएका थिए।

छलफलमा मुख्यतया मन्त्रिपरिषद् बिस्तार, मन्त्रीहरूको कार्य विभाजन, मन्त्रालय बांडफाँट, प्रदेशसभा बैठक र प्रतिस्थापन विधेयक मार्फत बजेट ल्याउने विषयमा छलफल भएको एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए।

बैठकमा एमालेले मन्त्रिपरिषद् विस्तारलाई जोड दिएको थियो। मन्त्रिपरिषद् बिस्तारका विषयमा थप छलफल गर्नुपर्ने भएका कारण बैठक भोलिलाई पुनः राखिएको भण्डारीले जानकारी दिए।

उनले सोमबारको बैठकमा पहिले मन्त्रिपरिषद् विस्तार गर्ने र त्यसपछि बजेट ल्याउने प्रारम्भिक सहमति भएको बताए। ‘मन्त्रिपरिषद् विस्तारबारे थप छलफल गर्नुपर्ने भएकाले भोलिलाई पुनः बैठक राखिएको छ।’ उनले भने।

मन्त्रिपरिषद् बिस्तार गर्दा केन्द्रीय गठबन्धनका सबै दलहरूलाई सरकारमा सहभागी गराउन नहुने एमालेले बताउँदै आएको छ। प्रमुख सचेतक भण्डारीले कोशीमा कांग्रेस र एमालेको सरकार भएका कारण केन्द्रीय गठबन्धनमा आबद्ध सबै दललाई सरकारमा समावेश गर्न नहुने बताए।

उनले भने ‘केन्द्रीय गठबन्धनलाई कोशीमा कार्यान्वयन गर्न हुँदैन भन्ने हाम्रो अडान हो।’

गठबन्धनका सबै दललाई सरकारमा ल्याउन नहुने एमालेको अडान र गठबन्धनमा आबद्ध दलहरूले समेत विश्वासको मत दिएर सरकारमा सहभागी हुने बताइसकेका कारण मुख्यमन्त्री कार्की चेपमा परेका छन्। जसका कारण कोशीमा मन्त्रिपरिषद् बिस्तार गर्न समस्या भइरहेको छ।

मन्त्रिपरिषद् बिस्तारमा समस्या देखिएपछि नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापासमेतलाई मंगलबारको बैठकमा सहभागी गराउने तयारी मुख्यमन्त्री कार्कीले गरेका छन्।

मंगलबारको बैठकमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापासमेत सहभागी हुने विना विभागीय मन्त्री शमशेर राईले बताए। उनले कोशीमा राप्रपा बाहेक अन्य दलहरूलाई समेटेर सरकार बिस्तार गर्ने तयारी भइरहेको बताए।

राईले कांग्रेसका संसदीय दलका नेतासमेतको सहभागितामा सत्ता साझेदार नेकपा एमालेसँग मंगलबार बस्ने बैठकले मन्त्रिपरिषद् बिस्तारको निर्णय गर्ने जानकारी दिए।