२०८१ माघ ९, बुधवार , ०२:१३:३७ बजे

Sajhamanch
'

युएईमा झापालीको दसैँ शुभकामना भब्यरुपमा सम्पन्न

सोमवार, कार्तिक ६, २०८०

अबुधावी (युएई) । यहाँका विभिन्न राज्यमा कार्यरत झापालीहरु अबुधाबीमा भेला भएर धुमधामसँग दसैँ उत्सव मनाएका छन्। विजया दशमीका दिन मंगलबार विदा नपाइकाले दुई दिन पहिले नै हिजो आईतबार सार्वजनिक विदाको दिन भेला भएर शुभकामना आदानप्रदान गर्दै दशैं मनाएका हुन्।

झापाली समाज युएईको आयोजना तथा अबुधाबी क्षेत्रीय समितिको संयोजनमा अबुधाबीको कर्निस पार्कमा आयोजित दसैँको शुभकामना आदानप्रदान कार्यक्रममा युएईका विभिन्न क्षेत्रमा कार्यरत झापालीहरु भेला भएका थिए।

कार्यक्रममा सारजाह, दुबई, लगायत अबुधाबीका विभिन्न क्षेत्रबाट आएका झापालीहरुले नाचगान गर्दै एकआपसमा दसैँको शुभकामना आदानप्रदान गरेका थिए । कार्यक्रममा सहभागीहरुले ७२ वर्षीय आमा शुशिला कोईरालाको हातबाट बडादसैँको टीका जमरा ग्रहण गरेका थिए।

उक्त कार्यक्रममा झापाली चेलीहरुबीच ‘बेलुन फुटाइ’ र ‘हण्डी फुटाइ’ प्रतियोगितासमेत आयोजना गरिएको थियो। प्रतियोगिताका विजेताहरु रेजिना राई र सीता उप्रेतीलाई प्रमुख अतिथि एनआरएनए युएईका कोषाध्यक्ष सुमन पराजुलीले पुरस्कार प्रदान गरेका थिए।

सोही कार्यक्रममा झापाको शिवगंजमा स्पाईनल इन्जुरीबाट पीडित सन्तोष भट्टराईको उपचारार्थ मिना शर्मा र बिना शर्माले १ हजार ५० दिराम (नेपाली करिब ३८ हजार रुपैयाँ) सहयोग प्रदान गरेका थिए।

यसैगरी झापाली समाज युएईका परिकल्पनाकार एवम् संस्थापक रामप्रसाद ढुँगेलले भट्टराईको उपचारार्थ नेपाली १० हजार रुपैयाँ सहयोग प्रदान गरेका थिए।

अबुधाबीमा भर्खरै सञ्चालनमा आएको बिबिटी (बेष्ट बर्गर टाउन) रेष्टुरेन्ट, लोकेस कोइराला, हेमराज शिवाकोटी, सूर्य खवास लगायतको प्रायोजनमा सम्पन्न भएको कार्यक्रमलाई सुमन पराजुलीले मुख्य प्रायोजन गरेका थिए।

कार्यक्रममा झापाली समाज युएईका अध्यक्ष अमरराज राई, अबुधाबी क्षेत्रका कार्यबाहक अध्यक्ष हेमराज शिवाकोटी, लिला बिमलीलगायतले सम्बोधन गरेका थिए।

सम्बन्धित खबर