२०८१ पौष ७, आइतवार , ११:४४:४१ बजे

Sajhamanch
'

बिर्तामोडका बजारहरुमा नगरपालिकाबाट नियमित अनुगमन

बुधवार, कार्तिक १, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले वडा नम्बर ३ स्थित बिर्ताबजारमा आज अनुगमन गरेको छ । नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको नेतृत्वमा खाद्यन्न तथा मासु पसलहरुको अनुगमन गरिएको हो ।

अनुगमनमा केही म्याद गुज्रिएका पेय पदार्थ फेला पारी जफत गरेको छ । अर्विन आछामेले सञ्चालन गरेको अम्बिका किराना पसलमा भारतीय ब्राण्डको केही थान निम्बु फ्रेसु म्याद नाघेको तर बिक्रीका लागि राखिएको पाइएको हो ।

अनुगमन टोलीले म्याद नाघेको अखाद्य वस्तु जफत गरी आगामी दिनमा यस प्रकारको गल्ती दोहोरिन नदिन सचेत गराएको छ ।

यस्तै गणेश फ्रेस हाउस दुर्गन्धित रहेको पाइएकोले सरसफाईमा ध्यान दिन निर्देशन गरिएको छ ।

अनुगमनका क्रममा अधिकांशले नगरमा व्यवसाय दर्ता नगरेको, नविकरण नगरेको र मूल्यसूची ठिक ठाउँमा नराखेको पाइएको थियो । उनीहरुलाई नगरपालिकामा आवश्यक कागजातसहित ३ दिनभित्र हाजिर हुन निर्देशन गरिएको छ ।

नगर उपप्रमुख संग्रौलाले अनुगमनलाई नियमित गरिने जानकारी दिँदै जनताको स्वास्थ्यलाई असर गर्ने अखाद्य वस्तु बिक्री नगर्न सबैलाई आग्रह गरेका छन् ।

नगर उपप्रमुख संग्रौलाले बजारमा अखाद्य वस्तु बेचेको प्रमाणसहित सुराकी गर्नेलाई नगद ५०० रुपैयां पुरस्कार प्रदान गरिने पनि उनले बताए ।


बजार अनुगमनमा कार्यपालिका सदस्यहरु तिला गौतम, संगीता सिवा, वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटा, नगरपालिकाका राजस्व शाखा प्रमुख पदम घिमिरे, बिर्तामोड उद्योग वाणिज्य संघका सदस्य गुन्जन प्रसाई लगायत जनप्रतिनिधिहरु, जनपथ प्रहरी र नगर प्रहरीको सहभागिता थियो ।

चाडपर्वको बेला महंगी बढ्ने, म्याद गुज्रिएको, अखाद्य वस्तुको बिक्री वितरण हुनसक्ने भएकोले अनुगमनलाई निरन्तरता दिएको नगर उपप्रमुख संग्रौलाको भनाई छ ।

उपप्रमुख संग्रौलाको नेतृत्वमा निस्किएको अनुगमन टोलीले भद्रपुर रोडमा रहेका खाद्यन्न तथा किराना पसल, हनुमान सेन्ट्रलमा रहेको किनमेल डिपार्टमेन्ट स्टोर, लगायत कृषिथोक बजार भित्र रहेको तरकारी पसल र माछा मासु पसलको अनुगमन गरेको हो ।

टोलीले अनुगमनका क्रममा फेला पारेका म्याद गुज्रिएका सामाग्री नष्ट गर्न, नगरपालिकामा व्यवसाय दर्ता तथा नविकरण गर्न र माछा मासु पसलहरुलाई सफा र स्वच्छ राख्न सुझाव दिएको छ।

आज भएको अनुगमनमा नगर उपप्रमुख संग्रौलासंगै वडा नम्बर ५ का वडाअध्यक्ष रोहित प्रसाई, कार्यपालिका सदस्य तिला गौतम, संगीता सिवा, वडा नम्बर ५ का वडा सदस्य दुर्गाप्रसाद सिवाकोटी, वडा नम्बर ४ का वडा सदस्य उमेश राउत, नगरको राजश्व शाखा प्रमुख पदम घिमिरे, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष मदन गोपाल सुव्वा, कृषिथोक बजार व्यवस्थापन समिति अध्यक्ष कमलप्रसाद पौडेल, प्राविधिक दिव्या सिटौला, बिर्तामोड उद्योग वाणिज्य संघ बिर्तामोडका राजु गौतम लगायतको सहभागिता रहेको थियो ।

नगरपालिकाले यसअघि बिर्तामोड क्षेत्रभित्र रहेको पेट्रोल पम्पमा पनि अनुगमन गरेको थियो ।

सम्बन्धित खबर