झापा । बिर्तामोड–१० चौथो वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
बिर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा आज भएको प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा बिर्तामोड २ विरुद्ध ५–० गोल अन्तरको फाराकिलो जीत निकाल्दै बिर्तामोड–१० फाइनलमा प्रवेश गरेको हो ।
बिर्तामोड–१० लाई जीत दिलाउन सौरव लिम्बूले ह्याट्रिक गरे । पहिलो हाफको ९औं मिनेटमा पहिलो गर्दै टिमलाई अग्रता दिलाएका लिम्बूले खेलको १९औं मिनेटमा दोस्रो गोल गरे । निर्धारित ७० मिनेटको खेलमा लिम्बूले ५८औं मिनेटमा व्यक्तिगत तेस्रो तथा टिमका लागि चौथो गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । बिर्तामोड–१० का लागि अभिषेक गुरुङले थप दुई गोल गरे ।
बिर्तामोड–२ ले भने खेलमा सान्त्वना गोलसमेत फर्काउन सकेन । खेल अवधिभर स्कोर गर्ने प्रयास गरे पनि विपक्षी बाधक बन्दा सफल हुन सकेन । खेलमा बिर्तामोड २ का नविन विकले ४१औं मिनेटमा र विपिन लिम्बूले ६५औं पहेँलो कार्ड पाएका थिए ।
बिर्तामोड–१० का लागि ह्याट्रिक गर्ने सौरव लिम्बू आजको खेलको ‘म्यान अफ दि म्याच’ घोषित भए । आयोजकको तर्फबाट नगद १५ सय र युवा व्यवसायी दिपेन चौधरीको तर्फबाट १ हजार गरेर उनले नगद २५ सय रुपैयाँ पुरस्कार पाए । उनलाई बिर्तामोड वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले पुरस्कार प्रदान गरेका थिए ।
बिर्तामोड–१० ले अब कार्तिक २ गते हुने फाइनल खेलमा बिर्तामोड–५ सँग प्रतिष्पर्धा गर्नेछ । यसअघि सोमबार भएको पहिलो सेमिफाइनलबाट बिर्तामोड ४ लाई २–१ गोल अन्तरले पराजित गर्दै बिर्तामोड ५ ले फाइनलमा स्थान बनाएको थियो ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले नगद १ लाख र उप विजेताले ५० हजार रुपैंया र मेडल, ट्रफी तथा प्रमाण–पत्र प्राप्त गर्नेछ ।
प्रतियोगिताको फाइनलको दिन पत्रकार र कलाकारबीच मैत्रीपूर्ण खेल हुने आयोजक समितिका सचिव विशन लिम्बूले जानकारी दिएका छन् ।