२०८१ माघ १४, सोमवार , ०३:०१:०६ बजे

Sajhamanch
'

नेपाल बहुउद्देश्यीय सहकारी संस्था नेतृत्व परिवारमा दोहोरो शोक

सोमवार, असोज २९, २०८०

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) परिवारमा एकैसाथ दोहोरो शोकको दुखद संयोग परेको छ ।

संस्थाका निवर्तमान अध्यक्ष रामचन्द्र उप्रेती र प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीसहितका माता जानुकादेवी उप्रेतीको असोज २४ गते अपरान्ह निधन भएकै मितिमा राति वर्तमान अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीका पिता टीकाप्रसाद सिवाकोटीको पनि असामयिक निधन भएको हो । यसरी एकैपटक एकैदिन एनएमसी परिवारमा दोहोरो शोकको दुखद संयोग परेको हो ।

उप्रेती परिवारबाट सबैजसो व्यक्तिहरु गोपीचन्द्र उप्रेती, मनोज उप्रेती, बविता उप्रेती ढकाल, लक्ष्मी दाहाल उप्रेती र मीना पोख्रेल उप्रेती एनएमसीका संस्थापक शेयर सदस्यहरु हुन् । वर्तमान अध्यक्ष सिवाकोटी पनि एनएमसीका संस्थापक शेयर सदस्य नै हो । दुवै परिवारले आ–आफ्नो निवासमा माता पिताको दशगात्र कर्म गरिरहेका छन् ।

नेपालको सहकारी अभियानमा उल्लेखनीय स्थान बनाएको एनएमसी र यसको नेतृत्व माता पिताको निधनमा शोकमा रहेको अवस्थामा अभियानको केन्द्रीय नेतृत्वले असोज २८ गते निज निवासमा नै आएर समवेदना अर्पण गरेको छ ।

माता पिताप्रति श्रद्धाञ्जली अर्पण गर्न उपस्थित भएका सहकारी अभियन्ताहरुले आ–आफ्नो संस्थागत सहभागितासहितको समवेदना पत्र हस्तान्तरण गरेका हुन् ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले सहजीकरण गर्दै समवेदनापत्र वाचन गरेको सो शोकसभामा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडाल र उपाध्यक्ष रमेशप्रसाद पोखरेलसहित सञ्चालकहरुले समवेदना पत्र हस्तान्तरण गरेका थिए ।

यस्तै, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के वी उप्रेतीसहित सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत गुरागाईंसहित शाखाप्रमुखहरु समवेदना अर्पण गर्न शोकाकुल परिवारमा आएका हुन् ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, लेखा सुपरीवेक्षण समितिका संयोजक चूडामणि ओझासहित पदाधिकारी, सदस्य र कर्मचारी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेसहित पदाधिकारीहरु, कोअपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष खोमप्रसाद खगालेसहित पदाधिकारीहरु र मेची सहकारी संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईसहित पदाधिकारीहरु एकुाथ उपस्थित भएर शोकाकूल उप्रेती र सिवाकोटी परिवारमा समवेदना प्रकट गरेका हुन् ।

शोकाकुल दुईवटै परिवारमा शब्द श्रद्धाञ्जली अर्पण गर्दै राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशवप्रसाद बडालले जन्मने वित्तिकै निश्चित भएको एउटा सत्य मृत्युमात्र भएकोले यो शाश्वत सत्य सबैले स्वीकार गर्नुपर्ने बताए ।

माता पिताको देहावसान पछि छोराछोरीले आफूलाई एक्लो महसुस गर्नु स्वाभाविक नै हो तर जन्मेपछि मृत्यु शाश्वत सत्य हो, को पहिले को पछि मात्र हो भन्ने बुझ्न पनि बडालको सुझाव थियो ।

चलन चलाए पछि चल्छ भन्ने एउटा पुस्तकका लेखकको धारणलाई उल्लेख गर्दै अग्रज सहकारी अभियन्ता बडालले दशगात्र कर्ममा रहँदा नमस्कार गर्नुहुँदैन भन्ने चलनलाई यहाँबाट तोडिएकोमा खुसी पनि ब्यक्त गरेका थिए ।