२०८१ माघ १४, सोमवार , १२:३१:१३ बजे

Sajhamanch
'

‘अन्य वित्तीय संस्थाहरुको तुलनामा सहकारीको योगदान स्मरणयोग्य’ : नगरप्रमुख प्रसाई

शुक्रवार, असोज २६, २०८०

झापा । नेपालका ग्रामीण जनताको आर्थिक स्तर उकास्न तथा शिक्षा, स्वास्थ्य एवम् रोजगारीका लागि यहाँका सहकारी संस्थाहरुको योगदान महत्वपूर्ण रहेको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतरा प्रसाईंले बताएकी छन् ।

बिर्तामोडस्थित शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको ११औं वार्षिक साधारणसभा अन्तरगत बिर्तामोड सेवाकेन्द्रको इकाईगत साधारणसभामा प्रमुख अतिथि रहेकी उनले सो कुरा बताएकी हुन् ।

अन्य वित्तीय संस्थाहरुको तुलनामा सहकारीको योगदान स्मरण गर्दै नगरप्रमुख प्रसाईंले भनिन्, ‘आजको दिनमा सहकारी सदस्यको सुखदुःखको साथी बनिरहेको छ, आर्थिक विकासमा सहकारी अगाडि छ, वेरोजगारलाई स्वरोजगार बनाउन सहकारी संस्थाको योगदान अन्यको तुलनामा धेरै अगाडि छ ।’

शिक्षा सहकारीले बचत तथा कर्जा कारोबारदेखि विद्यालय सञ्चालनसम्मका कार्यहरु सफलतापूर्वक गर्दै आएको थाहा पाउँदा आफूलाई खुसी लागेको बताउँदै नगरप्रमुख प्रसाईंले पालिका सरकारको तर्फबाट आवश्यक सहयोग रहिरहने प्रष्ट पारिन् ।

समान कार्यसूचिका आधारमा सबै सेयर सदस्यहरुलाई आमन्त्रण गरी सम्बन्धित सेवाकेन्द्रहरुको संयोजनमा इकाइगत साधारणसभा गर्ने शिलशिलामा आज चौथो कार्यक्रम सञ्चालन गरिएको सचिव सूर्य खतिवडाले कार्यक्रम सञ्चालनका क्रममा जनाए ।

संस्थाका अध्यक्ष सुब्रत न्यौपानेको अध्यक्षतामा आयोजित इकाई साधारणसभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्दै उनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै चालू आर्थिक वर्षमा संस्थाको आम्दानी बृद्धि हुने, रोजगारी सिर्जना हुने र सदस्यलाई आत्मनिर्भर एवम् व्यावसायिक बनाउने खालका योजनामा संस्था केन्द्रित रहेको अवगत गराए ।

संस्थाबाट कर्जा लिएका संस्थाका तीनजना सेयर सदस्यको मृत्यु भएकाले गत आवमा ३ लाख ५० हजार १३० रुपैयाँ कर्जा मिनाह गरिएकोले अनुमोदनका लागि साधारणसभा समक्ष अध्यक्ष न्यौपानेले पेश पनि गरेका छन् ।

शिक्षा सहकारीले आफ्ना सदस्यहरुलाई १९ प्रकारका विभिन्न सुविधाहरु प्रदान गरिरहेकाले सोको उपयोग गर्न आह््वान गर्दै अध्यक्ष न्यौपानेले पायक पर्ने शेयर सदस्यहरुले संस्थाको आफ्नै लगानीमा चारपानेमा सञ्चालित शिक्षा सिकोप निकेतनमा बालबालिका पढाउन अनुरोध पनि गरेका छन् ।

इकाई साधारणसभा समारोहमा संस्थाका लेखा सुपरीवेक्षण समिति संयोजक युवराज निरौलाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक संकटको जटिल अवस्थामा पनि संस्था लक्ष्य प्राप्तितर्फ अग्रसर हुँदै गएको जानकारी दिए ।

उनले आर्थिक वर्ष २०७९/०८० मा संस्थाको कोष एक करोड ९८ लाख ९४ हजार २२६ रुपैयाँ पुगेको जानकारी दिँदै शेयर पुँजी ३ करोड ४८ लाख ८१ हजार र बचत संकलन १६ करोड ८४ लाख ७ हजार १५८ रुपैयाँ रहेको बताए ।

कार्यक्रममा ऋण उपसमिति संयोजक एवम् संस्थाका उपाध्यक्ष हेमराज मिश्रले ऋण उपसमितिको प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९/०८० मा संस्था कूल २९ करोड ५६ लाख ६२ हजार रहेको र कर्जा असुली ११ करोड ४५ लाख ६१ हजार ८११ रुपैयाँ रहेको जानकारी दिए । संस्थाको लगानीमा रहेको ऋण १८ करोड ९ लाख १९० रुपैयाँ रहेको छ भने ऋणबाट ३ करोड ५३ लाख ४१ हजार ३३९ रुपैयाँ आम्दानी गरेको छ ।

सो अवसरमा युवराज कार्की (पर्वत) र नारायण कट्टेललाई उत्कृष्ट शेयर प्रवर्धक सम्मान प्रदान गरियो भने प्रसुती सहायत वापत समीक्षा चौंलागाईंलाई ३५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

यसैगरी बिर्तामोड कार्यालय अन्तरगतका शेयर सदस्यहरुलाई उनीहरुले संस्थासँग गरेको बचत तथा कर्जा कारोबारमा उत्कृष्ट ठहर गर्दै नगदसहित सम्मान गरिएको छ ।

संस्थाका सचिव सूर्यकुमार खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संस्थाका प्रबन्धक शैलेन्द्र सुब्बाले शाब्दिक स्वागत गरेका थिए ।

सो इकाई साधारणसभा समारोहमा बिर्तामोड नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी खतिवडा, राष्ट्रिय सहकारी बैंकका बिर्तामोड शाखा प्रमुख विवेक डाँगी, झापा जिल्ला सहकारी संघका सञ्चालक सदस्य ढुण्डीराज गुरागाईंलगायतले आ–आफ्ना धारणा राखेका थिए ।