मानेभञ्ज्याङ (भारत) । सातौ मानेभञ्ज्याङ गोल्डकपको उपाधिको लागि बिएसके जलपाइगुडी र टेरिटोरियल आर्मी दार्र्जीलिङ भिड्ने पक्का भएको छ ।
आज सम्पन्न दोश्रो सेमीफाइनल खेलमा चाँद एफसी तीनधारियालाई २–१ गोल अन्तरले हराउँदै आर्मीले बिएसकेसंँगको भेट पक्का गरेको हो ।
आर्मीको जीतमा वाङ्देन तामाङ नायक घोषित भए । उनले आर्मीका लागि २ गोल गरे । ३६औ मिनेटमा पहिलो गोल गरेका उनले ४१औ मिनेटमा अग्रता दोब्बर बनाए ।
चाँदका लागि प्रविक तामाङले ५६औ मिनेटमा सान्त्वना गोल फर्काए । जीतसँगै आर्मीले कम्तीमा ४ लाख (२ लाख ५० हजार भारु) सुरक्षित गरेको छ ।
जलपाइगुडीले बुधबार भएको पहिलो सेमीफाइनलमा कञ्चनजंघा एफसी सिलिगुडी माथि ७–२ गोल अन्तरको फराकिलो जीत निकाल्दै फाइनलमा स्थान बनाइसकेको छ ।
आगामी अक्टोबर १५ (असोज २८) मा हुने फाइनल खेलको बिजेताले ८ लाख (५ लाख भारु) र उपविजेताले ४ लाख (२ लाख ५० हजार भारु) पाउने छन् ।
अक्टोबर २ बाट सुरु भएको प्रतियोगितामा नेपालका ५ सहित १६ क्लबको सहभागिता रहेको थियो ।