काठमाडौँ । अन्तर्राष्ट्रिय बालिका दिवस आज नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ। सन् २०११ देखि हरेक अक्टुबर ११ मा मनाउन थालिएको यो दिवसको यस वर्षको नारा ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ रहेको छ।
दिवसका अवसरमा नेपालमा बालिकाको सशक्तीकरण, नेतृत्व विकास तथा सुरक्षाका विषयमा विविध कार्यक्रम हुँदै छ। सोही अवसरमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले शासन तथा सेवा प्रवाहका विविध क्षेत्रमा बालिकाको नेतृत्व स्थापित गराउन भूमिका ग्रहण (गर्ल्स टेकओभर) मा सहजीकरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा बालिकासँग बालअधिकारका लागि संसदीय समूह विषयक अन्तक्रिया पनि गरिएको अभियानका महासचिव तिलोत्तम पौडेलले बताए।