२०८१ पौष ७, आइतवार , ०९:५१:५९ बजे

Sajhamanch
'

‘सिंगो क्याम्पस शोकमा छ’: इजरायल घटना

सोमवार, असोज २२, २०८०

कैलाली । “अहिले यहाँ (इजरायलमा) कति बेला के हुन्छ, केही आत्तोपत्तो छैन । हामीहरू शनिबारदेखि बंकरमा लुकेर ज्यान जोगाउन बाध्य छौँ । यहाँ सोचेजस्तो सहज केही पनि छैन । कति बेला आकाशमा कालो धुवाँको मुस्लो उठ्छ थाहै हुँदैन । निकै नै त्रसित माहोल छ । मिसाइल कति बेला कताबाट आयो पत्तो पाइँदैन,” इजरायलमा रहेका कैलालीको टीकापुरका निश्चल पाण्डेले पठाएको म्यासेज हो यो ।

सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायबाट ‘अर्न एन्ड लर्न कार्यक्रम’मार्फत इजरायल पुगेका पाण्डेले अगाडि भनेका छन्, “साइरनको त्यो ठूलो आवाजले सातो जान्छ । आकाशमा हेलिकोप्टर र फाइटर जेट निरन्तर उडिरहेका छन् । बंकरमा पनि सोचेजस्तै सहज केही छैन । न खाना न पानी, अनि त्यो चिसो भुइँमा त्रासैत्रासमा बिताउनुको पीडाले नर्कमा भएको अनुभूति भएको छ । आजको रात निकै लामो हुनेछ । पर्खाइ त्यो भोलि शुभबिहानीको हुनेछ ।”

उनले सन्देश पठाएको केही समयपछि उक्त आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएको समाचार आयो । सो घटनापछि सुदूरपश्चिम विश्वविद्यालय शोकमा परेको छ ।

“घटनाले विद्यार्थी हतोत्साहित बनेका छन् । शिक्षक भावविह्वल बन्नुभएको छ । क्याम्पसका सबै पठनपाठन बन्द भएका छन् । आन्तरिक परीक्षा स्थगित भएको छ,” क्याम्पसका उपप्राध्यापक प्रेम पाण्डेले भने, “हामीसँग बोल्ने शब्द बाँकी छैनन् । घटनाले हामीलाई विवश बनाएको छ ।” उक्त घटनाले विद्यार्थीको मनोबल कमजोर बन्ने स्थिति देखिएको उनले बताए ।

विश्वविद्यालयका उपप्राध्यापक सरोज घिमिरेले विद्यार्थीको मृत्युले राज्यले ठूलो जनशक्ति गुमाएको बताए । उपप्राध्यापक घिमिरे भनछन्, “आज दुःखद घटना घट्यो । यस्तो अवस्थामा हामीसँग कुनै उत्तर छैन ।”

उपप्राध्यापक गुरु अधिकारीले सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल पुगेका अरू विद्यार्थी पनि जोखिममा रहेको बताए । उनले जतिसक्दो चाँडो राज्यले घाइतेको उपचार र अरूलाई नेपाल फर्कने वातावरण बनाउन आग्रह गरे ।

“राज्यको भूमिका औपचारिकता मात्रै देखिएको छ । हाम्रा अन्य विद्यार्थी पनि जोखिममा छन् । उहाँहरूको समयमै उद्धार होस्,” उनले भने, “आज विद्यार्थीका अभिभावक भावविह्वल अवस्थामा छन् । सिंगो क्याम्पस शोकमा छ । म आग्रह गर्छु, राज्य जिम्मेवार बनोस् ।”

कृषि विज्ञान संकायको दोस्रो वर्षमा अध्ययनरत सुन्दर विश्वकर्माले उनीहरूको निधनले आशाको दियो निभेको बताए । पहिलो ब्याचका विद्यार्थी इजरायल जाँदा आफूले बोकेका सपनामा पूर्णविराम लागेको उनको भनाइ छ ।

“हामीभन्दा अघिल्लो ब्याचका विद्यार्थीहरू थप सिकाइका लागि इजरायल जानुभएपछि आफूहरू पनि जानुपर्छ भन्ने लागेको थियो । अहिलेको घटनाले त्यो सपनामा पूर्णविराम लागेको छ,” उनले भने । उनले त्रासमा रहेका सबै विद्यार्थीलाई नेपाल फर्काउन सरकारले चाँडो पहल गर्नुपर्ने बताए ।

विश्वविद्यालयबाट भदौ २६ गते इजरायल पुगेका निश्चलका बुवा उत्तम पाण्डेले आफ्नो छोरासहित सबै विद्यार्थीलाई नेपाल फर्काउन सरकारसँग आग्रह गरे । छोरासँग सम्पर्क भइरहेको र त्यहाँ रहेका विद्यार्थी निकै असुरक्षित रहेको उनको भनाइ छ ।

“बाहिरको वातावरण निकै असुरक्षित छ भनेर छोरासँग सम्पर्क भइरहेको छ । उहाँहरू अझै पनि बंकरमा बसेर जीवन जोगाइराख्नुभएको छ,” पाण्डेले भने, “उहाँहरूको कुराले सबै विद्यार्थी नेपाल फर्किन चाहन्छन् । हामी अभिभावक पनि आफ्ना सन्तान फर्केको हेर्न चाहन्छौँ । सरकारले हाम्रा सन्तान नेपाल फर्कने वातावरण बनाओस् ।”

विश्वविद्यालयको कृषि विज्ञानतर्फ स्नातक तहको अन्तिम सेमिस्टारका ४९ मध्ये भदौ २६ गते १५ र भदौ २७ गते ३५ विद्यार्थी इजरायल गएका थिए । उनीहरूमध्ये १० छात्रा छन् । उनीहरू १० महिनाका लागि इजरायल गएका थिए ।

विद्यार्थीले लर्न एन्ड अर्न कार्यक्रमअन्तर्गत साताको एक दिन अध्ययन, पाँच दिन काम र एक दिन छुट्टीमा बस्ने उल्लेख थियो । कृषि विज्ञान संकायले कार्यक्रमअन्तर्गत पहिलोपटक विद्यार्थी पठाएको हो ।

सम्बन्धित खबर