२०८१ माघ १४, सोमवार , १२:३५:५३ बजे

Sajhamanch
'

सहारा नेपाल साकोस : इकाईगत साधारणसभा धमाधम, १,२४२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिँदै, बाह्यकर्जा शून्य

सोमवार, असोज २२, २०८०

झापा । सदस्य संख्या एवम् वित्तीय कारोबारको आंकडाका आधारमा नेपालकै ठूलोमध्येको एक सहकारी संस्था सहारा नेपाल साकोस लिमिटेडको २७औँ वार्षिक साधारणसभा अन्तरगतका इकाइगत सभाहरु आइतबारबाट सुरु गरिएको छ ।

आगामी कात्तिक १८ गते अन्तिम माइन्युट प्रमाणीकरण सभा गर्ने गरी साकोसले आफ्ना सबै सेवा केन्द्र अन्तरगतका सेयर सदस्यहरु आमन्त्रण गरी असोज २७ गतेसम्म इकाईगत साधारणसभा सञ्चालन गर्ने तालिका बनाएको हो ।

सहकारी ऐन २०७४, नियमावली २०७५ तथा प्रदेश सहकारी ऐन २०७६ को व्यवस्था अनुसार सहारा नेपाल साकोसले अन्तिम माइन्युट प्रमाणीकरणका लागि एकाई साधारणसभाहरुबाट ३१ जना प्रतिनिधि छनोट गर्ने जनाइएको छ ।

कोशी प्रदेशका छ वटा जिल्लामा कार्यक्षेत्र रहेको सहारा नेपाल साकोसको माइन्युट प्रमाणीकरणका लागि पाँचथरबाट एकजना, उदयपुरबाट एकजना, इलामबाट दुईजना, सुनसरीबाट चारजना, मोरङबाट छजना र झापाबाट १७ जना प्रतिनिधि छनोट हुनछन् । सहारा नेपाल साकोसले उक्त ६ जिल्लाका ८० वटा सेवा केन्द्रमार्फत सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

वित्तीय आंकडा

सहारा नेपाल साकोस लिमिटेडले आर्थिक वर्ष २०७९/०८० को असार मसान्तमा १ लाख ५७ हजार ६०६ शेयर सदस्य बनाएर १ अर्ब ६३ करोड १४ लाख ५२ हजार १०० रुपैयाँ शेयर पुँजी कायम गरेको साधारणसभामा वितरित प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले समीक्षा वर्षमा २ अर्ब २१ करोड २४ लाख ४० हजार १४० रुपैयाँ आम्दानी गरेर र १ अर्ब ८१ करोड ३७ लाख ४३ हजार ५६१ रुपैयाँ खर्च गरी ३९ करोड ८६ लाख ९६ हजार ५७९ रुपैयाँ खुद नाफा गरेको प्रतिवेदनमा जनाइएको छ ।

चालू आर्थिक वर्षको दुई महिनाको अवधिमा संस्थाले प्रतिवेदनमा उल्लेख गरेको वित्तीय आंकडाभन्दा केही सकारात्मक परिवर्तन गरिसकेको पाइएको छ । यो अवधिमा ३१२ जना शेयर सदस्य वृद्धि भई शेयर पुँजीमा २ करोड ३८ लाख ८८ हजार १०० रुपैयाँ वृद्धि भइसकेको छ ।

संस्थाको निक्षेप वृद्धि पनि तुलनात्मकरुपमा बढेको कारण तरलता २७ दशमलव ५६ प्रतिशत कायम हुन पुगेको छ । यस्तै संस्थाले लगातारको प्रयास पछि बाह्य कर्जा शून्य बनाउन सफल पनि भएको २०८० भदौ महिनाको वित्तीय विवरणमा उल्लेख छ ।

सामाजिक सुरक्षा भत्ता वितरण

सहारा नेपाल साकोसले नजिकिँदै गरेका मुख्य चाडपर्वहरुलाई लक्षित गरेर आफ्ना सदस्यहरुलाई प्रदान गरिँदै आएको सामाजिक सुरक्षा नियमित कार्यक्रम अन्तर्गतको रकम इकाइगत साधारणसभाबाटै वितरण गरिरहेको छ ।

संस्थाले यसवर्ष एक हजार २४२ जना सदस्यलाई उनीहरुको लाभग्राही सूचि अनुसारको रकम वितरण गरिरहेको कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिएका छन् । सो कार्यक्रम अन्तर्गत पर्ने सदस्यहरुलाई १ करोड १६ लाख ६६ हजार रुपैयाँ वितरण गर्ने तय भएको कार्यकारी प्रमुख गिरीको भनाई छ ।

उनका अनुसार ८१५ जना एकल महिलालाई जनही ८ हजार रुपैयाँका दरले ६५ लाख २० हजार, पोषण भत्ताअन्तर्गत ६५ वर्ष माथिका २४३ जनालाई जनही ६ हजार रुपैयाँका दरले १४ लाख ४८ हजार, ज्येष्ठ नागरिक सम्मान अन्तर्गत ७० वर्ष माथिका १२८ जनालाई जनही ८ हजार रुपैयाँका दरले १० लाख २४ हजार, वृद्धवृद्धा सम्मान अन्तर्गत ८१ वर्ष माथिका १० जनालाई जनही १० हजार रुपैयाँका दरले १ लाख रुपैयाँ वितरण गरिनेछ ।

त्यस्तै, दीर्घायु भत्ता ८६ वर्ष माथिका पाँच जनालाई जनही २५ हजार रुपैयाँका दरले १ लाख २५ हजार, एकल पुरुष ५८ वर्षमाथिका १४ जनालाई जनही ६ हजार रुपैयाँका दरले ८४ हजार, असक्त तथा अपाङ्ग भत्ता १२ जनालाई जनही १० हजार रुपैयाँका दरले १ लाख २० हजार र परिवार राहतअन्तर्गत १५ जनालाई २२ लाख ३५ हजार रुपैयाँ इकाइगत साधारणसभा मार्फत् वितरण गरिने कार्यकारी प्रमुख गिरीले बताए ।