विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन् ।
कोशी प्रदेशसभाका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिनु अगाडि बसेको एमाले संसदीय दलको बैठकमा राजीनामा दिनु उत्तम विकल्प ठहर गरिए पछि मुख्यमन्त्री कार्की सो निश्कर्ष मा पुगेका हुन् ।
संविधानको धारा १६८ (५) अन्तर्गत पुन मुख्यमन्त्री हुन नपाउने सुझाव आएपछि उनी राजीनामा दिने निर्णयमा पुगेको जनाइएको छ । दलको बैठकमा एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारी संविधानको धारा १६७ (३) अन्तर्गत बनेको सरकारले विश्वासको मत पाउन नसके पुन १६८ (५) अन्तर्गत मुख्यमन्त्रीको दाबी गर्न नपाउने बताएका थिए।
संविधानको धारा १६८ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री बनेको आज ३० दिन पुग्दै छ । अहिलेसम्मको राजनीतिक समीकरणमा कार्कीले विश्वासको मत पाउने अवस्था नदेखिएपछि राजीनामा दिने मनस्थितिमा पुगेका हुन् । मुख्यमन्त्री कार्कीले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने जनाइएको छ ।