झापा । झापाको बाहुनडाँगी जंगली हात्तीबाट धेरै प्रताडित भूगोल हो । जहाँका बासिन्दाले आधा शताब्दीदेखि भारतबाट आउने हात्तीको प्रताडना ब्यहोरिरहेका छन् । एक दुई वटादेखि सय वटासम्म हात्तीको हुल मेची तरेर बाहुनडाँगीको गौंडाबाट नेपाल पसेका धेरै घटना छन् ।
भोकाएर आएका जंगली हात्तीले यहाँको खेतीबाली, अन्नपात, बोट विरुवा सबै खाने, माड्ने, नोक्सानी गरिदिनाले स्थानीयबासीले भुल्नै नसक्ने चोट सहिरहेका छन् । यही पीडा सरकारहरु(?)लाई सुनाउन असोज १७ गते साँझ स्थानीयले हात्ती पस्ने गौंडामा नै पत्रकार सम्मेलन गरेका थिए ।
बिहीबार बेलुका करिब साढे ६ बजे झापाका पत्रकारहरूको समूह बाहुनडाँगी बजार पूर्वको मेची किनारमा भेला भएका थिए । जिल्लाभरबाट २० जनाभन्दा बढी पत्रकारहरुलाई भारतबाट आउने जंगली हात्ती प्रवेश गर्ने गौँडामा नै भेला गराएर बाहुनडाँगीबासीले हात्तीबाट भएको क्षतिको पीडा सुनाएका हुन् ।
कयौं पटक विभिन्न निकायमा हात्तीको पीडा सुनाउँदा पनि संघीय र प्रदेश सरकारले ठोस कदम नचालेकाले हात्तीको समस्यामा गम्भिर बन्न हात्ती आउने मुख्य गौँडामा नै पत्रकार सम्मेलन गर्नु परेको मेचीनगर ४ का वडाअध्यक्ष अर्जुनकुमार कार्कीले औचित्य प्रष्ट्याएका थिए ।
‘हामीले हात्तीबाट पीडित हुनु परेको पुस्तौं भयो,’ निष्पट्ट रातमा मेचीको किनारमा उभिएर वडाध्यक्ष कार्कीले भने, ‘स्थानीय सरकारले यहाँको क्षतिपूर्ति दिन सक्दैन, केन्द्र र प्रदेश सरकारले हाम्रो पीडा बुझ्नै चाहँदैन ।’
हात्ती छेक्न निर्माण गरिएको करिब १७ किलोमिटर विद्युतीय तारबार पनि क्षति भएकाले थप समस्या भएको मानव हात्ती द्वान्द व्यवस्थापन समितिका अध्यक्ष सागर कार्कीले बताए ।
‘विद्युतीय तारबारले पनि अब हात्ती छेक्न नसक्ने भइसक्यो’ कार्कीले भने, ‘हात्ती धेरै बाठो जनावर हो, उसले आफ्नो दाराले तारबारलाई पन्साएर भित्र पस्ने गरेको छ’ उनले पत्रकारमाझ सुनाए ।
दारामा करेन्ट लाग्दैन भन्ने हात्तीले थाहा पाइसकेकाले पनि अहिले हात्तीले करिब २० हजारभन्दा बढीको वाटको करेन्ट आउने विद्युतीय तारबारमा हात्तीले क्षति पुर्याउन थालेको अध्यक्ष कार्कीको भनाई छ । बाहुनडाँगी क्षेत्र हात्तीका कारण धेरै नै प्रताडित हुँदा पनि राज्यको गम्भिर ध्यानाकर्षण नभएको मेचीनगर २ का वडाअध्यक्ष दीपक बरालले आरोप लगाए ।
‘संघीय सरकार र प्रदेश सरकारको उपस्थिति हात्तीको क्षतिमा अलिक नजिकबाट हुनुपर्यो’ वडाअध्यक्ष बरालले थपे, ‘राहत पाउने व्यक्तिको नाम आउँदा पनि त्यो राहत लिन अति झन्झटिलो प्रक्रियाले थप पीडा दिएको अवस्था छ ।’
पत्रकार सम्मेलन चल्दैगर्दा भारतबाट हात्ती नेपाल प्रवेश गरेको सूचना आए पछि स्थानीयहरु विभिन्न आवाजको साइरन बजाउन र टर्च लाइट बाल्दै हात्तीको गतिविधि नियाल्न थाले । पत्रकार सम्मेलन चल्दैगर्दा हात्ती हेर्न पुगेका पत्रकारसमेत स्थानीय कै पछिपछि लागेका थिए ।
‘हाम्रो त यो हरेक रातको काम भइसक्यो’ नेपालतर्फ गठन भएको हात्ती नियन्त्रण गर्न बनेको युवा दस्ता (आरआरटी)का संयोजक न्युटन कार्कीले भने, ‘स्थानीयको बाली र जीवन जोगाउन हामी हरेक रात १५/१६ जना युवा मेची खोलामा तैनाथ हुन्छौं ।’