कचनकवल । दक्षिणी झापाको कचनकवल गाउँपालिकामा व्यवसायिक रूपमा किसानले लगाएको उत्पादन दिन थालेका कोलाका करिब ८ हजार बोटहरु आइतबार बिहान आएको हावाहुरीका कारण ढलेर नष्ट भएको छ ।
गाउँपालिकाका कृषि शाखा प्रमुख संगम सापकोटाका अनुसार २३ किसान परिवारले लगाएको ५० देखि ६० प्रतिशत कोलाका बोटहरु हावाहुरीका कारण नष्ट भएको स्थलगत रिपोर्टबाट देखिएको हो ।
कृषि शाखा प्रमुख सापकोटाका अनुसार किसानले आउँदै गरेको मुख्य चाडबाडलाई लक्षित गरेर जोगाएको कोलामा पूर्णरुपले क्षति भएको छ ।
सो गाउँपालिका वडा नं. ४ का मनोजकुमार गणेशका अनुसार उनको बगानमा लगाइएको १५ सय कोलाका बोटहरुबाट आम्दानी हुने बेलामा नोक्सानी पुगेको हो ।
उनीजस्तै किसान सत्यनारायण गणेश, धर्मेन्द्र यादव, जितलाल गणेश र सतलाल गणेश लगायत २३ किसान परिवारले सहकारी तथा बैङ्कको ऋणमा लगाएको कोलाखेतीमा क्षति हुँदा उनीहरु घर न घाटको भएको बताउँछन् ।
अहिलेको अवस्थामा उनीहरुको लागत खर्चमात्रै दुई सय पचास पुगिसकेको छ भने प्रतिघरि ४०० देखि ५०० सम्ममा बिक्री हुँदै आएको उनीहरु बताउँछन् । किसानहरुका अनुसार करिब ४० लाखको नोक्सानी भएको र स्थानीय सरकार तथा केन्द्र सरकाबाट उनीहरुले राहतको अपेक्षासमेत गरेका छन्.।
कृषकहरुलाई कृषि बीमा सम्वन्धी जानकारी नहुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको हो ।