२०८१ मंसिर ११, मङ्गलवार , १२:४१:१३ बजे

Sajhamanch
'

धुलाम्मे सडक मर्मत नगरे व्यवसायीले दमक नगरपालिकामा पसलको चाबी बुझाउने !

सोमवार, असोज १५, २०८०

दमक । दमकस्थित मुख्य बजार क्षेत्रमा ढल बनाउँदा भत्काइएको सडक वर्ष दिन बित्दासमेत नबनाएका कारण धुलाम्ये भएको छ । यसले ब्यवसायी र उपभोक्ता मारमा परेको बताउँदै नेपाल उद्योग तथा ब्यवसायी महासंघ दमक नगर कमिटीले नगरपालिकाको ध्यानाकर्षण गराएको छ ।

सडक मर्मत सम्भारको काम तत्कालै नभए नगरपालिकालाई ब्यवसायीले चाबी बुझाउने अवस्था आउने भन्दै आज महासंघले नगरपालिकाका प्रमुख रामकुमार थापाको ध्यानकर्षण गराएको हो । चाडपर्वको समयमा हुनसक्ने लुटपाट तथा चोरीका घटना नियन्त्रणका लागि बिग्रेका सिसी क्यामेरा मर्मत र थप नयाँ जडान गर्न पनि महासंघले अनुरोध गरेको छ ।

आज सोमबार महासंघका प्रदेश कमिटी सदस्य बिमल खतिवडा, नगर अध्यक्ष रमेश लुइटेलसहितको टोलीले नगरपालिका पुगेर दमकको नमूना बजारको ब्यवस्थापनमा चासो दिएर तत्कालै काम गर्न तथा उल्लेखित सडक मर्मत सम्भार नभए पीडित ब्यापारीले पसलको चाबी नगरपालिकालाई बुझाउनु पर्ने अवस्था आउने चेतावनी दिएका हुन् ।

पशुहाटदेखि फाल्गुनन्द चोक र फाल्गुनन्द चोकदेखि हिमाविसम्मको सडक भत्काएर तत्कालै बनाउने भनिएको पनि लामो समयसम्म नबन्दा ब्यवसायीहरु यसबाट धेरै नै पीडित बनेको महासंघका प्रदेश सदस्य बिमल खतिवडाले बताए । उनले यसका लागि नगरपालिकाले पहल गरेर ब्यवसायीहरुको पीरमार्का बुझ्नु पर्ने सुझाव पनि दिए ।

महासंघका नगर कमिटी अध्यक्ष रमेश लुइटेलले नमूना बजारको ब्यवस्थापनका लागि यसभन्दा अघि पनि वडा नं. ६ को ध्यानकर्षण गराएको बताउँदै सो को ब्यवस्थापनका लागि पुनः आग्रह गरेका छन् । उनले यो दमकको पहिचानको रुपमा रहेकाले यसको ब्यवस्थापन तत्काल गर्न माग गरेका छन् ।

व्यवसायीहरुसँगको भेटमा नगरप्रमुख थापाले सडक मर्मत सम्भार र निर्माणको काम तत्कालै शुरु गराउने र यसका लागि आफूले बारम्बार पहल गरेको जनाए । यो विषय अहिले बजार निस्कनसाथ सबैले भन्ने गरेको स्मरण गर्दै उनले आजैबाट यसको काम शुरुवात गरिने पनि आश्वासन दिए । आजदेखि नै काम शुरु गर्न भनेका छौं, सायद काम शुरु भइसक्यो होला, उनको भनाई थियो ।

कतिपयले नमूना बजार मास्न पनि माग गरेको बताउँदै यसको ब्यवस्थापन गर्न माग राखेको प्रति उनले खुसी प्रकट गरे । ‘करोडौं लागतमा बनाइएको नमूना बजारको सुन्दरता नै मास्नका लागि पनि माग आएको छ’ उनले भने । वडा कार्यालयको समेत यस्तो माग रहेको भन्दै नगरपालिकालाई जानकारी गराएको उनले खुलासा गरे ।

सम्बन्धित खबर