कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले विपन्न समुदायका बालबालिका अध्ययन गर्ने कनकाई नगरपालिकाको एक सामुदायिक विद्यालयमा अध्ययनरत २२८ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।
मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्था रोटरी क्लवले कनकाई नगरपालिका–४ स्थित कनकाई गायत्री प्रावि परिसरमै गएर विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।
क्लवले आफ्नो वार्षिक कार्यक्रमको निरन्तरता स्वरुप कनकाई गायत्री प्राविमा अध्ययनरत नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई कापी, पेन्सिल, सार्पनर, इरेजर तथा विद्यालयका लागि खेलकुदका सामग्री प्रदान गरिएको क्लवका अध्यक्ष शिवकुमार कडेलले जानकारी दिए ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि स्थानीय स्तरका विभिन्न विद्यालयमा सहयोग गर्दै आएको क्लवले सामाजिक गतिविधिसँगै शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाईका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको क्लवका कानुनी सल्लाहकार रामप्रसाद निरौलाले बताए ।
आर्थिक अवस्था ज्यादै नाजुक भएका मजदूर वर्गका अभिभावकले आफ्ना छोराछोरीलाई पढ्न पठाउने सो विद्यालयको शैक्षिकस्तर वृद्धिका लागि रोटरीको सहयोगले थप हौसला प्रदान गरेकोमा विद्यालयका सल्लाहकार संयोजक गोविन्द पौडेलले खुशी व्यक्त गरेका छन् ।
स्वार्थभन्दा माथि उठेर सामाज सेवा गर्ने पवित्र उद्देश्यका साथ विभिन्न पेशा, व्यवसायमा संलग्न व्यक्तित्वहरु रहेको रोटरी क्लव अफ सुरुङ्गाको सर्भिस प्रोजेक्ट अन्तर्गत विद्यार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएको कार्यक्रम संयोजक सुस्मा न्यौपाने उप्रेतीले बताइन् ।
सर्भिस प्रोजेक्ट चेयरका रुपमा क्लवका पुर्व अध्यक्ष कुमारमणि पोखरेल रहेका छन् भने सदस्यहरुमा सुस्मा न्यौपाने उप्रेती र दिपक कुवँर रहेका छन् ।