२०८१ माघ १४, सोमवार , ०४:०४:५६ बजे

Sajhamanch
'

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसमा एनएमसी र कमल गाउँपालिकाको सम्मान

आइतवार, असोज १४, २०८०

झापा । कमल गाउँपालिकाले ३३औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको दिन आज अक्टोवर १ मा पालिकाभित्र बसोबास गर्ने ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

गाउँपालिका भित्र स्थायी बसोबास रहेका ७५ वर्षभन्दा माथि उमेरका ६३ जना ज्येष्ठ नागरिकलाई सम्मान गरिएको हो । उनीहरुलाई थर्मस, इलेक्ट्रिक हटव्याग र यातायात खर्च प्रदान गरिएको गाउँपालिकाका महिला तथा बालकालिका शाखा प्रमुख रिता कार्की रिजालले जानकारी दिइन् ।

सो कार्यक्रममा गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले ज्येष्ठ नागरिकले आफ्नो जीवनकालमा राज्यका विभिन्न क्षेत्रमा रहेर महत्वपूर्ण योगदान पुर्याएको स्मरण गर्दै उनीहरुलाई समाजको गहनाका रुपमा चित्रित गरे ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस अक्टोवर १ कै दिन आज नेपालकै अग्रणी सहकारी संस्था एनएमसीले ७० वर्ष पूरा गरेका आफ्ना ७०० हाराहारी सदस्यहरुलाई सम्मान गरेको छ ।

संस्थाका सबै वित्तीय सेवा केन्द्रहरुमा विशेष कार्यक्रमको आयोजना गरेर ज्येष्ठ नागरिकहरुलाई जनही पाँच हजार रुपैयाँ प्रदान गरी सम्मान गरिएको हो । संस्थाका अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीले काँकरभिट्टा कार्यालय अन्तरगतका ५० जनाभन्दा बढी सदस्यहरुलाई सम्मान गरिएको जनाएका छन् ।

बिर्तामोड कार्यालयमा ज्येष्ठ सदस्य सम्मान कार्यक्रममा सहभागी वरिष्ठ उपाध्यक्ष भगवती घिमिरेले एनएमसीले किन र कहिलेदेखि ७० वर्षभन्दा माथि उमेरका सदस्यहरुलाई सम्मान गर्न थाल्यो भन्ने विषयमा प्रकाश पारेकी थिइन् ।

बिर्तामोड कार्यालय अन्तरगतका २४ जना सदस्यहरु उक्त सम्मानयोग्य रहेकोले आमन्त्रण गरिएकोमा १२ जनामात्र सहभागी भएका कार्यालय प्रमुख धर्मेन्द्र सुवेदीले जनाए । उनले सहभागीहरु माझ एनएमसीका सबै व्यवसायहरुको संक्षिप्त जानकारी गराएका थिए ।

बिर्तामोड सेवा केन्द्रका संयोजक पर्शुराम मगरको अध्यक्षतामा आयोजित सो कार्यक्रममा सहभागीहरुलाई सदस्य सविता खनालले शाब्दिक स्वागत गरेकी थिइन् ।