
माल्दिभ्स । माल्दिभ्सको नयाँ राष्ट्रपतिमा चीनको समर्थक मानिने मोहम्मद मुइज्जू निर्वाचित भएका छन्।
निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई पराजित गर्दै मोहम्मद मुइज्जू माल्दिभ्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन्। मोहम्मद मुइज्जूले ५४ प्रतिशत मत प्राप्त गरेका छन्। पराजित भएका निवर्तमान राष्ट्रपति सोलिहले मोइज्जूलाई बधाई दिएका छन्।
बीबीसीका अनुसार हालमा मालेका मेयर रहेका मोहम्मद मुइज्जूले राष्ट्रपति निर्वाचनमा ‘इन्डिया आउट’ नाराका साथ आफ्नो चुनावी अभियान सुरु गरेका थिए। मोइज्जू माल्दिभ्सको सम्बन्ध चीनसँग बलियो बनाउनुपर्ने वकालत गर्दै आएका छन्।
चीन समर्थक मानिने मोइज्जूको जितले भारत र चीन पनि तरङ्गीत बनेको छ। कारण, हिन्द महासागर द्विपमा अब कसको प्रभाव हुन्छ भन्ने निर्धारण गर्नेछ।
पछिल्लो समय हिन्द महासागरको एक प्रमुख भागमा चीनले आफ्नो प्रभुत्व बढाउन थालेको छ। चीनको समर्थन गर्दै आएका मोइज्जू भारतको रणनीति र उसको कामबाट सन्तुष्ट छैनन्। त्यसकारण अब भारतका लागि हिन्द महासागरमा आफ्नो बर्चस्व बढाउन समस्या हुने देखिएको छ।