२०८१ माघ २५, शुक्रवार , ०२:१२:४९ बजे

Sajhamanch
'

एमाले प्रथम प्रदेश अधिवेशन : कोशीमा ११ बजेदेखि, कर्णालीमा बिहान ८ बजेदेखि मतदान सुरु हुने

आइतवार, असोज १४, २०८०

विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकालले उम्मेदवारी दर्ता गरेका छन् ।

सहमतिको प्रयास असफल भएपछि दुवै नेताले उम्मेदवारी दर्ता गरेका हुन् । केही पदहरुमा निर्वाचन कै प्रक्रिया सञ्चालन भए पनि धेरै पदहरुमा निर्विरोध र सर्वसम्मत पनि भएका छन् ।

प्रदेश कमिटी उपाध्यक्ष र उपसचिव पदमा उम्मेदवारी दिएकाहरु निर्विरोध निर्वाचित भएका छन् । अध्यक्ष मण्डलका सदस्य डा. शिवमाया तुम्बाहम्फेका अनुसार उपाध्यक्षमा धनकुटाका टिकाराम चेम्जोङ र उपसचिवमा झापाकी जलवर्षा राजवंशी निर्वाचित भएका छन् ।

दुवै पदमा एक–एकजनाको मात्र उम्मेद्वारी परेकोले उनीहरुलाई निर्वाचित भएको घोषणा गरिएको हो । यस्तै इलाम जिल्लाबाट निर्वाचित गरिनु पर्ने १५ जना प्रदेश कमिटी सदस्यहरु पनि सर्वसम्मत निर्वाचित भएको जनाइएको छ ।

२१५ सदस्यीय कार्यसमितिका लागि आज बिहान ११ बजेदेखि मतदान हुने कार्यतालिका सार्वजनिक भएको छ ।

यसैगरी नेकपा एमाले कर्णाली प्रदेशको निर्वाचन प्रक्रिया आज बिहान ८ बजेबाट सुरु हुने भएको छ । शनिबार बेलुकी ६ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने भनिए पनि व्यवस्थापनको अभावका कारण मतदान प्रक्रिया अगाडि बढ्न नसकेपछि आज मात्र मतदान हुने भएको हो ।

बुधबारबाट जारी अधिवेशन अन्तर्गत शनिबार बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको अन्तिम नामावली साँझ ५ बजेमात्रै प्रकाशित भएको थियो । निर्वाचन समितिले मतपत्र छपाई लगायतका व्यवस्थापकीय बाटोमा तदारुकता नदेखाउँदा निर्वाचन प्रक्रिया लम्बिएको जनाइएको छ ।

अध्यक्ष मण्डलका अध्यक्षसमेत रहेका एमाले प्रदेश इन्चार्ज लेखराज भट्टले आज बिहान ८ बजेबाट मतदान सुरु हुने जानकारी दिएका हुन् ।

कर्णालीमा अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए ।

कर्णाली प्रदेशको प्रथम अधिवेशनबाट पाँच पदाधिकारीसहित १३५ सदस्यीय कमिटी चयन गर्नेछ ।

सम्बन्धित खबर