२०८१ माघ १४, सोमवार , ०४:२०:५४ बजे

Sajhamanch
'

भद्रपुरमा सिम्रिक साकोसको इकाईगत साधारणसभा सम्पन्न, उत्कृष्ट कारोबारी सदस्यहरु सम्मानित

बुधवार, असोज १०, २०८०

भद्रपुर । झापाको अग्रणी सहकारी सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १३औं वार्षिक साधारण सभा अन्तरगत आज बुधबार भद्रपुरमा ईकाइस्तरीय सभा सम्पन्न गरेको छ । संस्थाले आफ्ना ५९ हजार २६३ जना सेयर सदस्यहरुलाई पायक पर्ने गरी इकाईगत साधारण सभा गर्दै आएको हो ।

संस्थाले भद्रपुर–८ स्थित नेपाल सामुदायिक विकास केन्द्रको सभाहलमा भद्रपुर, बनियानी र चन्द्रगढी सेवाकेन्द्र अन्तर्गका शेयर सदस्यहरुका बीचमा इकाईगत साधारणसभा सम्पन्न गरेको हो ।

संस्थाका सचिव इन्द्रबहादुर कार्कीको अध्यक्षतामा आयोजित इकाईगत साधारणसभाको उद्घाटन भद्रपुर नगरपालिका वडा नं ३ का वडाध्यक्ष हेमबहादुर कार्कीले गरेका थिए । संस्थाको २०७९/०८० को वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको सो साधारणसभामा एकजना असल ऋणी र एकजना असल वचतकर्तालाई सम्मान गरिएको थियो ।

उत्कृष्ट बचतकर्ताको रुपमा चन्द्रगढी सेवा केन्द्रका सदस्य सपना क्षेत्री र उत्कृष्ट ऋणी सदस्यका रुपमा बनियानी सेवा केन्द्रका सरिता शिवाकोटीलाई जनही पाँच हजार नगदसहित सम्मानपत्र प्रदान गरियो । समारोहका प्रमुख अतिथि कार्की, विशेष अतिथि भद्रपुर नगरपालिका वडा नं ५ का वडा सदस्य जेष्ठमल ठाकुरलगायतले सम्मानपत्र प्रदान गरेका थिए ।

यस्तै विभिन्न समयमा अस्पताल बसेर उपचार गराएका सो भूगोलका सदस्य वा तिनका परिवारको उपचार खर्चवापत ६ जना सदस्यलाई राहत सुविधा प्रदान गरिएको छ । राहत सुविधा पाउनेहरुमा रीना माझी, जानकी राजवंशी, सुनो राजवंशी, अनिता राजवंशी, मनिषा हल्वाई कान्दु र नगिना मुसलमान खातुन रहेका छन् ।

कोशी प्रदेशका चार जिल्लामा कार्यक्षेत्र रहेको संस्थाले आ. व. २०७९/०८० मा ११ दशमलव ६४ प्रतिशतले बृद्धि गरी २ अर्ब ९३ करोड ६२ लाख ९४ हजार ६०७ रुपैयाँको वासलात बनाएको छ । समीक्षा वर्षमा बाह्य कर्जा ९२ करोड ८ लाख ७२ हजार ३१६ रुपैयाँ ९४ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । सिम्रिकले आगामी असार मसान्तमा करिब २० करोड रुपैयाँ बाह्यकर्जा घटाउने लक्ष्य लिएको जनाइएको छ ।

संस्थाका मानव संशाधन विभाग प्रमुख मीनबहादुर अधिकारीले सञ्चालन गरेको साधारणसभाको बन्दसत्रले वार्षिक प्रतिवेदन पारित गरेको थियो ।