२०८१ माघ ३०, बुधवार , ०९:३७:५७ बजे

Sajhamanch
'

कोशी प्रदेशका रेलवे पिडीतको समस्यालाई गम्भीरता पूर्वक लिँदै सभामुख घिमिरे

मङ्गलवार, असोज ९, २०८०

झापा । आफ्नो निर्वाचन क्षेत्रका जनतासँग प्रतक्ष्य साक्षत्कार गर्न सोमबार झापा आएका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आज दिनभर विकास निर्माण कार्यको अवलोकन तथा भेटभाट गरेका छन् ।

झापा निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएका उनले आफ्नो क्षेत्रमा भइरहेका निर्माण कार्यको अवलोकन गर्नुका साथै आवश्यक योजनाहरुको स्थलगत अवलोकन गरेका हुन् । उनले बिर्तामोडबाट शनिश्चरे जोड्ने सडक, शनिश्चरे बजार बीचमा निर्माणाधिन परियोजना तथा सिद्ध शक्तिपीठ कालिकापीठ कालिस्थानको स्थलगत अवलोकन गरेका हुन् ।

परियोजना अवलोकनका लागि सभामुखसँग रहेका एमाले नेता बद्री भट्टराईका अनुसार भ्रमणका क्रममा उनले जनसहभागिता र सरकारको संयुक्त पहलमा भएका कामका बारेमा जानकारी लिएका छन् । कालिकापीठ कालिस्थानको स्थलगत अवलोकन पछि उनले धार्मिक पर्यटकीय स्थलका रुपमा पीठको विकास गरिनुपर्ने बताएको पत्रकार इन्दु पूर्वेलीले जानकारी दिइन् ।

निजी पहलबाट पीठको विकासमा भएको कामको प्रशंसा गर्दै सभामुख घिमिरेले गुरुकूलको विकासका लागि दरबन्दी प्रदान गर्ने लगायत विषयमा आवश्यक पहल गर्ने आश्वासन दिएको पत्रकार पूर्वेलीले बताइन् ।

आफ्नो निर्वाचन क्षेत्रको अवलोकनमा आएका सभामुख घिमिरेले अहिले आफू सांसद रहेर पनि कार्यकारी भूमिकामा नरहेकोतर यही क्षेत्रको प्रतिनिधिको नाताले क्षेत्रको विकासका लागि भरपुर पहल गर्ने बताएका थिए ।

सभामुख घिमिरेसँग आज उनको बिर्तामोडस्थित सम्पर्क कार्यालयमा रेलवे प्रभावितहरुले पनि भेट गरी आफ्ना गुनासाहरु प्रस्तुत गरेका छन् । सरकारले रेल वे सञ्चालनका लागि व्यक्तिको निजी जमिन रोक्का राखेको तीन वर्ष बितिसकेको तर अझै यसको निकास आउन नसकेकोले मानिसहरु आत्महत्याको स्थितिमा पुगेकाले समस्याको किनारा लगाउने गरी सहजीकरण गरिदिन प्रभावितहरुले माग गरेका छन् । 

रेलवे प्रभावितहरुले गठन गरेको कोशी प्रदेश समन्वय समितिका संयोजक डा. लक्ष्मीप्रसाद मैनाली, महासचिव रञ्जित प्रसाईंसहित झापा र मोरङका विभिन्न स्थानबाट आएका पिडीतहरुले सभामुख समक्ष समस्याको निकासका लागि विकल्प पनि प्रस्तुत गरेका थिए ।

रेलवे प्रभावितहरुको समस्या र गुनासोलाई मसिनो गरी सुनेर नबुझेका कुराहरु उनीहरुसँग पुनः जानकारी लिँदै सभामुखले प्रभावित क्षेत्रबाट निर्वाचित १० जना नै सांसदहरुलाई एकैठाउँमा राखेर छलफलको वातावरण बनाउने आश्वासन दिएका संयोजक डा. मैनालीले बताए ।

सम्बन्धित खबर