![](https://sajhamanch.com/wp-content/uploads/2023/09/Devraj-Ghimire-Copy.jpg)
झापा । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे आफ्नो निर्वाचन क्षेत्रका जनतासँग साक्षात्कार गर्न आज अपरान्ह गृहजिल्ला ओर्लिएका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचित भएलगत्तै सभामुख बनेपछि जिम्मेवारी थपिएकाले मतदातासँग भेट गर्न नपाएकोले पूरै दुई दिन जनतासँग साक्षात्कार गर्न गृहजिल्ला आएको उनको भनाई छ ।
विमानबाट भद्रपुर एयरपोर्ट उत्रिए पछि स्तरोन्नति भइरहेको तर हाल काम रोकिएको बिर्तामोड–भद्रपुर सडक खण्डको अवस्था अवलोकन गर्दै सम्पर्क कार्यालय आएर उनी पत्रकारसँग भेटमा बसेका थिए । सभामुख घिमिरेले बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माणको अवस्था बुझेपछि तत्काल निर्माण कार्य अघि बढाउन निर्देशन दिएको बताए । सभामुख घिमिरेले सडक निर्माणमा ढिलाई भएकोमा आफ्नो ध्यानाकर्षण भएको पनि अवगत गराए ।
बिर्तामोड–भद्रपुर सडक खण्ड निर्माण कार्यमा निर्माण व्यवसायीले बजेट नपाएको भनाई झुटो रहेको प्रष्ट्याउँदै सभामुख घिमिरे जनतालाई ढाँटेर काम रोक्ने प्रयास गरेको पनि जनाएका छन् । बजेट हुँदाहुँदै पनि काम रोक्नु वेठिक हुने सभामुख घिमिरेको भनाई छ ।
यस्तै, अघिल्लो महिना शनिश्चरे खुदुनाबारी सडक खण्डको विरिङ पुल चर्किएको घटनामा ध्यानाकर्षण भएको जनाउँदै सभामुख घिमिरेले जिल्लाका विभिन्न विकासका परियोजना बारे चासो राख्दै निर्माण गर्नुपर्ने र सूचारु आयोजनाहरुको कामलाई अघि बढाइने पत्रकारहरुलाई जानकारी गराए ।
सभामुख बनेको करिव ९ महिनाको अवधिमा आफूले गरेको अनुभव सुनाउँदै घिमिरेले भने ‘सरकारले विधेयकको मस्यौदा तयार पार्दा विज्ञ तथा सम्बन्धित क्षेत्रका सरोकारवालाहरूसँग छलफलै नगरी ल्याउन गरेको’ बताए ।
पछिल्लो समय अत्याधिक चर्चामा रहेको र सडक आन्दोलन नै भएको शिक्षा विधेयक ल्याउँदा पनि यही नियति दोहोरिएको आफूले जानकारी पाएको उनको भनाई छ । ‘अहिले नयाँ शिक्षा विधेयकले समस्या ल्याउनुको मुख्य कारण बिना छलफल विधेयक तयार पारिएको कारण नै हो’ सभामुख घिमिरेले बताए।
उनले अगाडि भने, ‘मैले आज मात्र शिक्षा क्षेत्रका विभिन्न सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरूसँग छलफल गरेँ, उहाँहरुले बुझाएको ज्ञापन पत्र हेरेको छु। उहाँहरूको कुरा सुन्दा शिक्षा विधेयक छलफल बिना तयार पारिएको भन्ने थाहा हुन्छ।’
संसदले ऐन कानून बनाउँदा सरोकारवालाहरुसँग परामर्श हुनुपर्ने आवश्यकता दर्शाउँदै सभामुख घिमिरेले ‘अब संसदमा टेबुल भएका सबै विधेयकमा गहिरो छलफल गराउने प्रतिबद्धता’ पनि व्यक्त गरे। छलफल बिना प्रस्तुत गरिएका विधेयकले समस्या समाधान गर्ने भन्दा बढाउने भएकाले संसदमा त्यसबारे गम्भीर छलफल गराउने उनको भनाई छ ।
‘सबै विधेयकहरू संसदमा गहिरो गरी अध्ययन गर्ने र पारित गर्नका लागि मेरो पहल हुनेछ,’ सभामुख घिमिरेले भने, ‘तर सरकारले नै संसदलाई विजिनेस दिन अघि विचार पुर्याउनु पर्छ।’
आगामी असोज १४ गतेका लागि संसद बैठकको मिति तोकिएको छ तर सुन तस्करी काण्डमा उच्चस्तरीय आयोग गठनको विषयमा छलफल सहमतिमा नपुगेकाले फेरि पनि संसद अवरोध हुन्छ कि भन्ने चिन्ता आफूलाई लागेको उनले सुनाए। उनले भने, ‘यो विषयमा सहमति भएन भने फेरि पनि संसद अवरोधको अवस्था आउनसक्छ। त्यसले मलाई चिन्तित बनाएको छ।’
सभामुख घिमिरले तीन दिनको झापा बसाईमा आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या र आवश्यकता बुझ्ने गरी सबै भूगोलमा पुग्ने कार्यतालिका बनाइएको छ ।
थप जानकारी यो भिडियो लिंकमाः
https://www.facebook.com/watch/?v=1038386383981929