२०८१ माघ १४, सोमवार , ०१:३८:५६ बजे

Sajhamanch
'

‘लोभीपापी प्रवृत्तिका कारण कतिपय सहकारीमा समस्या उत्पन्न भयो’ : उपाध्यक्ष पोखरेल

सोमवार, असोज ८, २०८०

झापा । सफल सहकारी पसल सञ्चालन गरेर छुट्टै नाम कमाएको सतासी बहुउद्देश्यीय सहकारी संस्थाको २०औं वार्षिक साधारणसभा आज बिर्तामोडमा सम्पन्न भएको छ ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा दिप प्रज्वलन गरी उद्घाटन गरिएको वार्षिक साधारणमा अध्यक्ष रुद्रमणि श्रेष्ठले सञ्चालक समितिको तर्फबाट तयार गरिएको ३० पृष्ठको प्रतिवेदन प्रस्तुत गरेका छन् ।

उनले संस्थामा ७ हजार ९९ जना शेयर सदस्यहरु, ७ करोड ८८ लाख ६ हजार ४०० रुपैयाँ शेयर पुँजी, जगेडा कोष र अन्य कोषहरु ७ करोड २४ लाख ७५ हजार ७३३ रुपैयाँको रहेको जानकारी गराए ।

समीक्षा वर्षको असार मसान्तमा निक्षेप मौज्दात ४५ करोड १४ लाख ६६ हजार ६२२ रुपैयाँ रहेको तथा बाह्य ऋण १७ करोड २७ लाख ४२ हजार ९९१ रुपैयाँ तिर्न बुझाउन बाँकी रहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

सतासी बहुउद्देश्यीय सहकारीका सदस्यहरु माझ संस्थाको ५५ करोड २० लाख ९१ हजार ९८५ रुपैयाँ कर्जा लगानीमा रहेको तथा समीक्षा वर्षमा संस्थाले २० लाख ६० हजार २१४ रुपैयाँ खुद मुनाफा कमाएको अध्यक्ष श्रेष्ठले साधारणसभा हलसमक्ष तथ्याङ्क प्रस्तुत गरेका छन् ।

साधारणसभा समारोहमा अध्यक्ष श्रेष्ठले प्रतिवेदन प्रस्तुत गर्दै चालूवर्षका लागि केही नयाँ थप गरी अधिकांश पुराना योजना तथा कार्यक्रमहरुलाई निरन्तर सञ्चालन गरिने जानकारी दिए । संस्थाले सदस्यहरुको सीप अभिवृद्धि गरी स्वरोजगार बनाउन सीपमुलक तालिम सञ्चालन गर्नेछ भने सदस्यसँग सतासी कार्यक्रम मार्फत् सदस्य परिवारको सुखदुःखमा संस्थाको उपस्थिति रहने उल्लेख छ ।

सतासीले विगतदेखि नियमित गर्दै आएको सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु, स्वास्थ्य शिवीर, अन्तरक्रिया, जनचेतनामुलक कार्यक्रम, बालउमङ्ग कार्यक्रम तथा विभिन्न तहका तालिमहरु सञ्चालन गर्न बजेट विनियोजन गरिएको अध्यक्ष श्रेष्ठले प्रस्ताव गरेका छन् ।

सहकारीमा दोहोरो सदस्यता न्यूनीकरणको प्रमुख अस्त्र मानिएको सहकारी–सहकारी बीचको एकीकरणलाई सदैव खुल्ला राखेको जनाउँदै सञ्चालक समितिलाई सो प्रक्रिया अवलम्बन गर्न साधारणसभा समक्ष अख्तियारी पनि मागेको छ ।

सो समारोहमा प्रमुख अतिथि पोखरेलले सहकारी अभियानको राष्ट्रिय अन्तर्राष्ट्रिय परिवेश माथि चर्चा गर्दै नेपालको संविधानमा तीन खम्बे अर्थनीति उल्लेख गरी सहकारीलाई महत्व दिइएको जनाए । सरकार, निजीक्षेत्र र सहकारीको योगदान ३३–३३ प्रतिशत हुँदामात्र तीनखम्बे अर्थनीतिको सार्थकता हुन्छ तर हालसम्म पनि सहकारीको योगदान १८ प्रतिशत हाराहारीमात्र रहेकोले अझ भूमिका बढाउन उनको आग्रह छ ।

नेपालमा सञ्चालन गरिएको सहकारी संस्थाहरुले पनि सहकारीका अन्तर्राष्ट्रिय सिद्धान्तहरुको नै पालना गरिरहेकोले सिद्धान्तमा कसैको विमति नहुँदा पनि कार्यान्वयनमा समस्या रहेकाले यहाँ केही सहकारीहरु बिग्रिएका उपाध्यक्ष पोखरेलको भनाई छ ।

नेपालका कतिपय सहकारीका सञ्चालकहरुमा उत्पन्न लोभीपापी प्रवृत्तिका कारण सहकारीमा समस्या उत्पन्न भएको जनाउँदै उपाध्यक्ष पोखरेलले केही सहकारीका कारण सिङ्गो अभियान माथि नै औंला ठड्याउने गरिएको र सरकारले पनि ऐन एवम् नीति नियमहरु कार्यान्वयन नगर्दा यसप्रति नकारात्मक भाव सिर्जना भइरहेको प्रष्ट पारे ।

देशभर ३२ हजारभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेका र माथि उल्लेखित समस्या ५०० हाराहारीमा मात्र रहेको भए पनि यसले अभियानलाई नराम्ररी गाँजिरहेकाले सहकारीका सदस्यहरु स्वयम् चनाखो भई आफ्नो संस्था सञ्चालन गर्न उनको सुझाव छ ।

सतासी बहुउद्देश्यीय सहकारी संस्थाले योगदानमा आधारित रहेर आफ्ना सदस्यहरुको परिवारमा जन्मदेखि मृत्युसम्मका अनेकन घटनाहरुमा सहयोग गर्ने गरेको थाहा पाउँदा खुसी लागेको बताउँदै राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्षसमेत रहेका उपाध्यक्ष पोखरेलले भने, ‘सदस्यहरुको सुखदुखमा गरिने सहयोग नै सहकारी भावना हो । यसलाई सबै सदस्यले उपयोग गर्न सक्ने गरीको सजिलो बनाउन मेरो सुझाव छ ।’

साधारणसभा उद्घाटन समारोहका अर्का वक्ता कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठले मन्तब्य राख्दै लघुवित्त र सहकारीहरुको ऋण नतिर्न उर्दी गर्दै हिड्ने समूहलाई सदस्यहरुले नै मिलेर लखेट्न आह्वान गरे ।

‘सहकारीमा जम्मा भएको पैसा तपाईं हामी हजारौं सदस्यहरुले दुःखले कमाएको सानो सानो रकम नै हामी भित्रैका थोरै सदस्यहरु माझ कर्जाका रुसमा लगानी गरिएको हुन्छ’ अध्यक्ष श्रेष्ठले आफ्नो आह्वानलाई थप प्रष्ट्याउँदै भने, ‘अनि हामी सदस्यहरुलाई नै आफ्नै रकम डुवाउने र नकारात्मक असर पार्ने गरी उकास्ने अराजक समूहलाई सदस्यले नै नलखेटेर हुन्छ ?’

साधारणसभाको गरीमा र महिमालाई सदस्यहरुले भत्ता पाउँने अवसरका रुपमामात्र नबुझ्न सुझाव दिँदै कर्णाली साकोसका अध्यक्ष श्रेष्ठले भने, ‘यो साधारणसभा हल सेयर सदस्यहरुले संस्थाको नीति तथा कार्यक्रम माथि प्रश्न उठाउने, छलफल गर्ने, सञ्चालक तथा कर्मचारीहरुको वित्तीय व्यवहार माथि प्रश्न गर्ने, आगामी वर्षका लागि सदस्य लक्षित कार्यक्रमहरु बनाउन सुझाव दिने महत्वपूर्ण फोरम भएकाले सक्रियतापूर्वक सहभागी हुन आवश्यक छ । तपाईंहरु प्रतिनिधि बनेर आएपछि यस विषयमा पक्कै जिम्मेवार बन्नुहुनेछ ।’

संस्थाका प्रबन्धक सन्तोषकुमार श्रेष्ठले सञ्चालन गरेको साधारणसभा उद्घाटन समारोहमा आमन्त्रित पाहुना तथा सहभागी प्रतिनिधि सेयर सदस्यहरुलाई उपाध्यक्ष सुजता गुरुङ थापा मगरले शाब्दिक स्वागत गरेकी थिइन् ।