२०८१ माघ १४, सोमवार , ०३:२४:५९ बजे

Sajhamanch
'

‘कसैलाई कोशी प्रदेशको नाम फेर्ने रहर भए दुईतिहाई जनमत प्राप्त गरी फेर्न सकिने’ : मन्त्री कार्की

शनिवार, असोज ६, २०८०

भद्रपुर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री एकराज कार्कीले कोशी शब्द नै सबै जाति र वर्गको साझा पहिचान भएकाले एकल जातीय पहिचानको नारा आवश्यक नभएको बताएका छन् ।

भद्रपुरस्थित राष्ट्र सेवक बचत तथा ऋण सहकारी संस्थाको २४औं वार्षिक सभालाई सम्बोधन गर्दै मन्त्री कार्कीले ९० बढी जातजातिको साझा बसोबास भएको केशी प्रदेशमा पहिचानका नाममा संकटको आवश्यकता नभएको दोहोर्याएका हुन् ।

उनले कसैलाई प्रदेशको नाम फेर्ने रहर भए अबको ४ वर्ष पर्खेर सदनमा दुईतिहाई जनमत प्राप्त गरी नामाकरण गर्दा हुन्छ भन्दै मन्त्री कार्कीले पहिचानका नाममा अराजकता निम्त्याउन कसैलाई छुट नभएको प्रष्ट पारे ।

कोशी प्रदेशमा राजनीतिक स्थायित्वका लागि काँग्रेस, एमाले र माओवादी बीचमा संवाद चलिरहेको बताउँदै मन्त्री कार्कीले सुशासनको अभाव बढ्दा राजनीतिक दलमाथि अविश्वास बढेकाले शासन शैलीमा निरन्तर सुधार गर्न आवश्यक रहेको पनि औंल्याए ।

प्रदेशको अधिकार संघमै राख्ने एकात्मकवादी सोचले प्रदेश सरकारमाथि बन्धनको प्रयास भएकाले यस्तो अमिल्दो शैली अन्त्य गरेर संघीयताको मर्म उजागर गर्न आवश्यक रहेको तर्क गर्दै उनले प्रदेशबिना संघीयता नै नरहने दाबी पनि गरे ।

संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षतामा आयोजित साधारण सभामा उनले वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै एक करोड ७० लाख ७६ हजार ५०० रुपैयाँ शेयर पूँजी तथा ८०८ जना शेयर सदस्य रहेको विवरण पेश गरेका थिए ।

सचिव नवराज पोखरेलले सञ्चालन गरेको साधारणसभा समारोहमा संस्थाका उपाध्यक्ष डिल्ली ढकालले शाब्दिक स्वागत गरेका थिए । कार्यक्रमममा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष विपी भट्टराई, नेपाल निजामति कर्मचारी संगठन कोशी प्रदेश संयोजक लक्ष्मीप्रसाद गुरागाई, झापा अध्यक्ष केदार पोखरेल, राष्ट्रसेवक सहकारी संस्था इलामका अध्यक्ष गणेश अधिकारीले मन्तब्य राखेका थिए । उनीहरुले आफ्नो मन्तव्यमा केही विकृत संस्थाका कारण सहकारी क्षेत्र बदनाम हुँदै गएकाले सबै शेयरधनी सचेत हुन आवश्यक रहेको धारणा राखेका थिए ।