बिर्तामोड । बिर्ताबजारमा निर्माणाधिन कृषि तथा सामुदायिक बिल्डिङ्गमा ठेकेदारले कमसल ईंटा प्रयोग गरेको पाइए पछि दोस्रो तलाको भित्ता भत्काइएको छ । एक नम्बर ईंटा प्रयोग गर्नुपर्नेमा ठेकेदारले लापरवाही गरी दोश्रो तलाको वालमा दुई देखि चार नम्बरसम्मको ईंटा प्रयोग गरेको पाइएपछि नगरपालिकाले भत्काउन बाध्य भएको जनाइएको छ ।
नगर प्रमुख पवित्रा महतारा प्रसाई, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपाने, वरिष्ठ योजना अधिकृत जय तिम्सिना, वडाअध्यक्षहरु, कार्यपालिका सदस्य लगायतको टोलीले आज सो भवनको अनुगमन गरेका थिए । कमसल ईंटा प्रयोग भएको वाल तुरुन्तै भत्काएर गुणस्तरीय ईंटा प्रयोग गरी नयाँ वाल निर्माण गर्न नगरप्रमुख प्रसाईले निर्देशन दिएकी छन् ।
नगरका प्रवक्ता अग्निप्रसाद पाण्डेले भने अब पनि लापरवाही ढंगले काम अघि बढाए ठेकेदारलाई कानून अनुसार हदैसम्मको कार्वाही गर्ने चेतावनी दिइएको छ ।
विल्डिङ्गमा यसअघि प्रयोग गरिएका ईंटा एक नम्बर नै भएको पाइए पनि पछिल्लोपटक खरिद गरेको ईंटा गुणस्तरहीन रहेको पाइएको वडा नम्बर ३ का वडाअध्यक्ष मदन बुढाथोकीले जानकारी दिए । उनले भोलिदेखि नै वडाको तर्फबाट पनि समिति बनाएर हरेक दिन अनुगमन तथा निगरानी बढाउने बताएका छन् ।
ठेकेदार कम्पनीले ४ ट्याक्टर ईंटा कमसल आएको स्वीकार गरेको छ । कम्पनीका सुपरभाइजर सुदिप चौंलागाईले नगरपालिकाको निर्देशन अनुसार कमसल ईंटा फिर्ता गरी गुणस्तरीय ईंटा मगाएर प्रयोग गर्ने बताए ।
नेपाल सरकारको ५ करोड ५६ लाख ५ हजार ३०८ रुपैयाँ (भ्याट सहित)को लागतमा विल्डिङ्ग निर्माण भइरहेको छ । सम्झौता अनुसार २०८० असोज ६ गते योजना सम्पन्न गर्नु पर्नेछ । ठेकेदार कम्पनीले हालसम्ममा ६० प्रतिशत काम सम्पन्न भएको जनाएको छ ।
अनुगमनमा वडा नम्बर ४ का वडाअध्यक्ष राहुलकुमार शर्मा, वडा नम्बर ७ का वडाअध्यक्ष अविरलकृष्ण खरेल, कार्यपालिका सदस्य यमुना आचार्य, तिला गौतम, संगीता शिवा, शर्मिला राजवंशी, वडा नम्बर ३ का वडासदस्य हरि बाँस्कोटा र लक्ष्मी रोक्का लगायतको सहभागिता थियो ।