झापा । डेंगी ज्वरोका कारण रगतमा अत्याधिक मात्रामा प्लेटलेट्स घटेकाले काठमाडौंको वीर अस्पतालमा उपचार गराइरहेका कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री एकराज कार्की आज डिस्चार्ज भएका छन् ।
बिर्तासिटी हस्पिटल बिर्तामोडबाट थप उपचारका लागि भदौ २४ गते काठमाडौं लगिएकोमा स्वास्थ्यमा सुधार भएपछि आज उनलाई डिस्चार्ज गरिएको परिवारिक स्रोतले जनाएको हो ।
उनको रगतमा प्लेटलेट्सको मात्रा १ लाख ५० हजार पुगेको र ज्वरो पनि पूर्णरुपमा घटेकाले एक साताको उपचार पछि डिस्चार्ज गरिएको जनाइएको छ । उनको मुटुमा देखिएको समस्या गम्भीर प्रकृतिको नभएको तर नियमित फलोअपमा रहन चिकित्सकले सुझाव दिएकाले १५ दिनपछि फलोअपमा जाने गरी अस्पतालले डिस्चार्ज गरेको जनाइएको छ ।
आज अपरान्हको विमानबाट मन्त्री कार्की कोशी प्रदेशको मुकाम विराटनगर आउने र भोलिदेखि मन्त्रालयको काम सम्हाल्ने तयारी गरेको नेकपा एमाले बिर्तामोड नगरकमिटीका सचिवालय सदस्य नविन सिवाकोटीले जनाएका छन् ।