काठमाडौं। नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) को पछिल्लो विवरणअनुसार हाल देशभर संक्रमितको संख्या २५ हजार ६१५ जना पुगेको छ।
इडिसिडीको विवरणअनुसार डेंगुकै कारण मृत्यु हुनेको संख्या पनि १५ जना पुगेको छ। इडिसिडीको विवरण हेर्दा कोशी प्रदेशमा डेंगु संक्रमितको संख्या निरन्तर बढेको छ। अघिल्लो हप्ता सम्म १९ हजार ५३ जना संक्रमित रहेकोमा यो हप्ता संक्रमितको संख्या बढेर १९ हजार ७७५ जना पुगेको छ।
यस्तै , बाग्मती प्रदेशमा पनि संक्रमितको संख्या बढेर ३३३९ जना पुगेको छ। यस्तै, जिल्ला तहमा हालसम्म झापा, सुनसरी, मोरङ र धादिङमा हालसम्म संक्रमितको संख्या धेरै रहेको छ। यी चार जिल्लामा एक हजारभन्दा बढी संक्रमित रहेका छन्।
मोरङमा हालसम्म २२५५ जना संक्रमित रहेका छन्। झापामा १३६७ जना, धादिङमा २१९७ जना र यस वर्ष सबैभन्दा धेरै डेंगु संक्रमण फैलिएको सुनसरीमा १४ हजार ९११ संक्रमित संख्या पुगेको छ। यो वर्ष सुनसरीको धरानमा डेंगुले महामारीकै रूप लिएको देखिन्छ। संक्रमणको दर हेर्दा यस वर्ष भेटिएका सबैभन्दा धेरै ५८ प्रतिशत संक्रमित सुनसरीमा रहेका छन्।