![](https://sajhamanch.com/wp-content/uploads/2023/09/1600046420.children-day.jpg)
काठमाडौं ।राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ।यो वर्ष ‘बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी’ नाराका साथ राष्ट्रिय बाल दिवस मनाउन लागिएको हो।नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो। त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ।
विसं २०२१ भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गतेका दिन मनाउन थालिएको हो।सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको छ।
संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वांगीण विकासको प्रत्याभूत गरेको छ । संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ ।महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री तथा राष्ट्रिय बाल अधिकार परिषद्का अध्यक्ष सुरेन्द्रराज आचार्यले संविधानले प्रत्याभूत गरेको बालबालिकाको हक र अधिकार कार्यान्वयनका लागि मन्त्रालय प्रतिबद्ध रहेको बताए।
‘मन्त्रालयले परिषद् तथा विभिन्न बालअधिकारका क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थाको समन्वय र सहकार्यमा सडक बालबालिका, हराएका, बेवारिस फेला परेका, कानुनविपरीत श्रममा संलग्न रहेका तथा विभिन्न कारणले जोखिममा परेका बालबालिकाको उद्धार, संरक्षण तथा व्यवस्थापन गर्दै आएको छ’, उनले भने।