भद्रपुर । झापाको भद्रपुर नगरपालिका वडा नं ५ मा २०७५ सालदेखि सञ्चालन हुँदै आएको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार भएको छ । उपचार सेवा लिन आउने सेवाग्राहीको संख्या दैनन्दिन बढ्न थालेपछि मेची आँखा अस्पतालले आफ्नो मातहतमा रहेको मेची आँखा उपचार केन्द्रको सेवा विस्तार गरेको हो ।
अस्पतालले मेची आँखा उपचार केन्द्र परिसरमा भवन निर्माण गरी आज आइतबारदेखि अन्तरङ्ग विभाग सञ्चालनमा ल्याएको छ । शल्यक्रिया गर्नुपर्ने विरामीको संख्या बढ्दै गएको र शल्यक्रिया पश्चात विरामीलाई अन्यत्र राख्नुपर्ने बाध्यताको अन्त्यका लागि १५ शय्याको अन्तरङ्ग विभाग सञ्चालनमा ल्याइएको हो ।
दानवीर सत्यनारायण सरियाले दिएको जग्गामा करिब एक करोड रुपैयाँ लागतमा भवन निर्माण गरी १५ शय्याको अन्तरङ्ग विभाग सञ्चालनमा ल्याइएको भवन निर्माण समितिका संयोजक एवम् मेची आँखा अस्पताल संघका पूर्व अध्यक्ष छत्रप्रसाद अधिकारीले जानकारी दिए ।
आइतबार केन्द्र पसिरमा आयोजित एक समारोहका बीच भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले सो अन्तरङ्ग विभागको उद्घाटन गरेका हुन् । मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि नगरप्रमुख पोखरेलले मेची आँखा उपचार केन्द्र दक्षिणी झापामात्र नभई सीमावर्ती भारतीय नागरिकका लागिसमेत आँखा उपचारका लागि भरपर्दो स्वास्थ्य संस्था बन्दै गएको बताए ।
अब यो उपचार केन्द्र भद्रपुरको गहनाको रुपमा विकसित हुँदै गएकोले यसको विकास र विस्तारका लागि नगरपालिकाले सकेको सहायेग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यसै आर्थिक वर्षमा सो उपचार केन्द्रका लागि नगरपालिकाले पाँच लाख रुपैयाँ बजेट छुट्याएको पनि जानकारी दिए ।
संघका सचिव गणेश पोखरेलले सञ्चालन गरेको समारोहमा वक्ताहरुले विस्तारै मेची आँखा उपचार केन्द्रले गति लिन थालेको बताउँदै आँखाजस्तो संवेदनशील अंगको सर्वसुलभ उपचार सेवा प्रदान गर्न सरकारको मात्र मुख नताकी सबैले सक्दो सहयोग गर्नुपर्ने धारणा राखेका थिए ।
भवन निर्माण समितिका संयोजक अधिकारीले स्वागत गरेको समारोहमा रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईं, जग्गादाता सत्यनारायण सरिया, ओम साई पाथीभरा हस्पिटलका अध्यक्ष दीपक पोखरेललगायतले मन्तव्य राखेका थिए ।
संघका अध्यक्ष गुरुङले मनकारी दाताहरुकै सहयोगबाट झापाको बिर्तामोड र भद्रपुरमा आँखा उपचारको गुणस्तरीय सेवा प्रदान गर्न सकिएको बताए ।
मेची आँखा अस्पतालका मेडिकल डाइरेक्टर पुरुषोत्तम जोशीले पछिल्लो समय प्रविधिको विकाससँगै विश्वभर आँखाको समस्या बढ्दै गइरहेको जानकारी गराउँदै सबै उमेर समूहका मानिसले समय–समयमा आँखा जाँच गराइरहनु पर्ने सुझाव दिए ।
भद्रपुरमा सञ्चालनमा आएको अन्तरंग विभागका लागि आवश्यक भौतिक सामग्रीहरु सरिया परिवारले नै सहयोग गरेको भवन निर्माण समितिका संयोजक अधिकारीले जानकारी दिए । उनका अनुसार सुरुसुरुमा दुई–चारजना सेवा लिन आउने गरेकोमा हाल दैनिक सयको हाराहारीमा विरामी आउने गरेको र प्रत्येक बुधबार १० जनासम्मको शल्यक्रिया हुने गरेको छ ।
निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु
यसैबीच, मेची आँखा उपचार केन्द्र परिसरमा आजदेखि तीनदिने निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सुरु भएको छ ।
नवनिर्मित अन्तरंग सेवा प्रारम्भको अवसर पारेर रोटरी क्लव अफ भद्रपुर, रोट्रयाक्ट क्लव अफ भद्रपुर र इनरह्वील क्लव अफ भद्रपुरको संयुक्त व्यवस्थापनमा आइतबारदेखि शिविर शुरु भएको हो ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले अन्तरङग विभाग भवन उद्घाटनसँगै आँखा शिविरको पनि उद्घाटन गरेका हुन् ।
आँखाका विरामीहरुको संख्या बढ्दै गइरहे पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका बिरामीहरुलाई लक्षित गर्दै निःशुल्क शिविर आयोजना गरिएको शिविरका संयोजक एवम् रोटरी क्लव अफ भद्रपुरका पूर्व अध्यक्ष आदित्य पराजुलीले जानकारी दिए ।
शिविरको पहिलो दिन नै सेवाग्रहीको उल्लेख्य भीड लागेको छ । आँखा उपचारका लागि भद्रपुर मात्र नभई झापाका अन्य स्थानीय तह र छिमेकी भारतको सीमावर्ती क्षेत्रबाट समेत बिरामी आएको रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विनोद चापागाईंले बताए ।
शिविरमा मेची आँखा अस्पतालका विशेषज्ञहरुले सेवा दिइरहेको र शल्यक्रिया गर्नुपर्ने बिरामीलाई केन्द्रमै राखेर शल्यक्रिया गरिने बताइएको छ ।
तीन दिनमा करिब एक हजार जनाको आँखा परीक्षण र करिब तीन सय जनाको शल्यक्रिया गरिने अनुमान गरिएको शिविर मंगलबारसम्म सञ्चालन हुने इनरह्वील क्लव भद्रपुरका अध्यक्ष निर्मला निरौला खड्काले जानकारी दिइन् ।