२०८१ माघ ४, शुक्रवार , ०९:०२:४३ बजे

Sajhamanch
'

बोर्डिङ स्कूलमा निःशुल्क स्वास्थ्य शिविरः ५०० बढी लाभान्वित

शुक्रवार, भदौ २२, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नं. ७ विरानस्थित कञ्चन इङ्लिस बोर्डिङ स्कूलमा आज शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट ५०० भन्दा बढी विद्यार्थी र अभिभावक लाभान्वित भएका छन् ।

मनमोहन सामुदायिक अस्पताल बिर्तामोडको प्राविधिक सहयोगमा भएको शिविरबाट स्वास्थ्य संस्थामा गएर चेकजाँच गर्न नसक्ने ग्रामीण क्षेत्रका विद्यार्थी र अभिभावकहरुले लाभ लिएका हुन् ।

विद्यालयको प्रांगणमा आयोजित शिविरमा उनीहरुको घुइँचो नै लागेको थियो । शिविरमा ५०४ जना विद्यार्थी र अभिभावकले चेकजाँच गराएको विद्यालयका संस्थापक प्रिन्सिपल दीपक चम्लागाईले बताए । विद्यार्थीहरु विरामी भइरहेकाले नियमित कार्यक्रम अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको उनको भनाई छ ।

शिविरमा बालरोग विशेषज्ञ डा. वरुण अग्रवालको नेतृत्वमा १३ जना स्वास्थ्यकर्मीहरुको टोलीले चेकजाँच गरेको थियो । टोलीमा मेडिकल अफिसरहरु डा. आरजु सुनुवार, डा. अजाज आचार्य, दुईजना हेल्थ असिस्टेन्ट लगायतले सेवा दिएको विद्यालयका संस्थापक तथा एकाउन्टेन्ट डिल्लीराम चम्लागाईले बताए । उनले मनमोहन हस्पिटलसँग सहकार्य गरेर प्रत्येक वर्ष विद्यालयमा स्वास्थ्य शिविर गर्दै आएको जानकारी दिए ।

त्यस्तै मेची आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा शिविर पनि सञ्चालन गरिएको थियो । शिविरमा निःशुल्क औषधी वितरणसमेत गरिएको थियो ।

विरामी भएपछिमात्र स्वास्थ्य संस्थामा जाने अवस्था भएका निम्न वर्गीय परिवारका लागि सो शिविर फलदायी रहेको अभिभावक कल्पना रोक्काले बताइन् । उनले आफू र युकेजीमा अध्ययनरत आफ्ना छोराले चेकजाँच गराएको जानकारी दिइन् ।

त्यस्तै अर्की अभिभावक टीका निरौलाको लागि पनि सो शिविर आवश्यक थियो । पैसा नभएर स्वास्थ्य संस्थामा जान नसक्ने विद्यार्थी र अभिभावकका लागि नियमित रुपमा त्यस्ता शिविर जरुरी भएको उनले खाँचो औंल्याइन् ।

२०६४ सालमा स्थापना भएर कक्षा १० सम्म अध्ययन भइरहेको सो विद्यालयमा ५४० जना विद्यार्थी छन् । विद्यालय ग्रामीण क्षेत्रमा रहे पनि भौतिक पूर्वाधारले सम्पन्न ३ वटा भवनमा २७ वटा कोठा रहेका छन् ।

विद्यालयले एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने गरेको अर्का संस्थापक तथा सहप्रधानाध्यापक बद्री बाँस्कोटाले बताए । ‘बिर्तामोड क्षेत्रका अरु संस्थागत विद्यालयको शुल्क हेर्ने हो भने हाम्रो शुल्क सस्तो छ’ उनले भने, ‘शुल्क सस्तो लिएर स्तरीय शिक्षा प्रदान गरिरहेका छौं ।’

विद्यालयका तीनैजना संस्थापकसँगै अन्य शिक्षकहरु दक्ष र अनुभवी भएकाले पनि परीक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल बनेको उनको भनाई छ ।

सम्बन्धित खबर