२०८१ माघ १३, आइतवार , ०४:१५:५० बजे

Sajhamanch
'

डाँफे साकोसको साधारणसभामा सम्मान, पुरस्कार र कर्मचारी विदाई एकसाथ

बिहिवार, भदौ २१, २०८०

दमक । हरेक वर्षको भदौ २० गतेलाई वार्षिक साधारणसभा गर्ने क्यालेण्डर बनाएको दमकको डाँफे सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुधबार आफ्नो कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेको अध्यक्षतामा आयोजित १६औं वार्षिक साधारणसभाबाट सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम र बजेट सुझावसहित पारित भएको हो ।

राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका निवर्तमान अध्यक्ष रमेशप्रसाद पोखरेलको प्रमुख आतिथ्यमा १६औं वार्षिक साधारणसभा सम्पन्न गरिएको हो । सो समारोहमा पत्रकार पंकज दाहालसहित संस्थाका ज्येष्ठ सदस्य भोलाशंकर बराल, उत्कृष्ट सदस्य सिताराम संग्रौला र उत्कृष्ट कर्मचारी दिपक भण्डारीलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो ।


यसैगरी संस्थामा लामो समय काम गरेर हालै विदा लिएका पूर्व कर्मचारीहरुलाई पनि सो समारोहमा मायाको चिनोसहित विदाई गरिएको थियो ।

संस्थाका सञ्चालक समिति सचिव लीलानाथ खनालले सञ्चालन गरेको साधारणसभा समारोहमा अध्यक्ष तुलाराम न्यौपानेले सञ्चालक समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक हेमचन्द्र खनालले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले आमन्त्रितहरुलाई शाब्दिक स्वागत गरेको सो समारोहमा प्रमुख अतिथि पोखरेल, नेफ्स्कुनका सञ्चालक घनश्याम अधिकारी, झापा जिल्ला सहकारी संघ, लेखा सुपरीवेक्षण समितिका संयोजक चूडामणि ओझाले सहकारी अभियानका विषयमा सान्दर्भिक धारणा राखेका थिए ।

यस्तै झापा जिल्ला बचत तथा ऋण सहकारी संघका सहसचिव कमलप्रसाद घिमिरे, मेची बहुउद्देश्यीय सहकारी संस्थाका सचिव राजेन्द्र दाहाल, राष्ट्रिय सहकारी बैंक दमक शाखाका प्रमुख मुना केसी र दमक नगरपालिका वडा नं. ५ का अध्यक्ष इन्द्र गुरुङले आफ्ना भनाई राखेका थिए ।

डाँफे साकोस लिमिटेडले भदौ ११ गते वार्षिक प्रतिवेदन सार्वजनिक गरेर चार ठाउँमा इकाई साधारणसभा पछि बुधबार अन्तिम माइन्युट प्रमाणित सभा सम्पन्न गरेको हो ।