काठमाडौँ । नेकपा एमालेको दसौं महाधिवेशनपछि भएको प्रदेश अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न–गराउन दिएको निर्देशन लुम्बिनी प्रदेशमा अवज्ञा भएको छ।
खुला र बन्द दुवै सत्रमा सम्बोधन गरेका अध्यक्ष ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न निर्देशन दिएका थिए तर उनको सो निर्देशनविपरीत मतदानबाट नेतृत्व चयन भएको छ। लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका समूहबिच कडा टक्कर भएको छ। उपाध्यक्ष पौडेलनिकट राधाकृष्ण कँडेलले झिनो मतले जित हासिल गरे। उनले महासचिव पोखरेलबाट अघोषित रूपमा समर्थन पाएका हरि रिजाललाई दुई मतले पराजित गरेका हुन्। कँडेलले जितेपछि ओली खुसी देखिएका छैनन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजमा कँडेललाई बधाई पनि दिएका छैनन्।
‘लुम्बिनी प्रदेशको नेतृत्व चयन सकेसम्म सर्वसम्मत गर्न खोजिएको थियो, सम्भव भएन, प्रतिस्पर्धा भयो,’ एमालेका एक पदाधिकारीले भने। उनका अनुसार लुम्बिनीमा सर्वसम्मत रूपमा नेतृत्व हुन नसक्दा अन्य प्रदेशमा समेत प्रतिस्पर्धाका लागि बाटो खुलेको छ। नेकपा एमालेको दसौं महाधिवेशनपछि भएको प्रदेश अधिवेशनलाई अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रूपमा नेतृत्व चयन गर्न–गराउन दिएको निर्देशन लुम्बिनी प्रदेशमा अवज्ञा भएको छ।
लुम्बिनीमा मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार पाल्पाका कँडेल ४७९ मत प्राप्त गरी विजयी भएका हुन्। प्रत्यासी प्युठानका रिजालले ४७७ मत प्राप्त गरे। लुम्बिनी अधिवेशनले उपत्यका विशेषसहित सातवटै प्रदेशमा नेतृत्वका लागि गुटगत प्रतिस्पर्धा हुन सक्ने आकलन गरिएको छ।
अध्यक्ष ओलीले प्यानल बनाएर सकेसम्म प्रतिस्पर्धा नगर्न निर्देशन दिँदै आए पनि त्यसलाई रोक्न नसक्ने अवस्था लुम्बिनीले देखाएको छ। लुम्बिनी अधिवेशनको उद्घाटन सत्रमा पार्टी उपाध्यक्ष पौडेल र महासचिव पोखरेल दुवैले सम्बोधन गरेका थिए। त्यस क्रममा पौडेलले गुट बनाउनेहरू पार्टीबाटै सकिने धारणा राखेका थिए भने पोखरेलले पार्टीलाई मजबुत बनाउन उपाध्यक्ष पौडेल र आफूबिच सहकार्य रहेको बताएका थिए। तर त्यही अधिवेशनमा उनीहरूबाट गुट झल्को दिने खालको अभ्यास भएको छ।
आगामी असोज १२ र १३ गते विराटनगरमा कोसी प्रदेशको अधिवेशन हुँदैछ। त्यसका लागि असोज ५ भित्र प्रतिनिधि छनोट भइसक्नेछन्। त्यहाँ दोहोरो जिम्मेवारीमा रहेका ३५१ प्रदेशस्तरीय नेताहरू छन्। उनीहरू दोहोरो जिम्मेवारीबाट मुक्त हुने भएपछि नेतृत्वका लागि प्रतिस्पर्धा हुने सम्भावना छ। ४७१ सदस्यीय कोसी कमिटी अब १५१ सदस्यीय बन्नेछ। त्यसका लागि पोलिटब्युरो सदस्य विशाल भट्टराई, हालका प्रदेश अध्यक्ष तुलसी न्यौपाने, केन्द्रीय सदस्यहरू विनोद ढकाल, घनश्याम खतिवडा, टीकाराम चेम्जोङ लगायतले प्रतिस्पर्धाको तयारी गरेका छन्।