२०८१ माघ २०, आइतवार , ०४:५५:२४ बजे

Sajhamanch
'

नेपालको सम्मानजनक एसिया कप यात्रा

मङ्गलवार, भदौ १९, २०८०

काठमाडौँ । एसिया कपको दोस्रो खेलमा विश्वक्रिकेटको महारथी भारतविरुद्ध खेल्न पाएको अवसरलाई पूरा उपयोग गर्दै नेपालले सोमबार सम्मानजनक ढंगमा प्रतियोगिता यात्रामा पूर्णविराम लगाएको छ।

श्रीलंकाको पालेकेले रंगशालामा भारतविरुद्ध पराजय भोगे पनि नेपालको प्रदर्शन तारिफयोग्य रह्यो। पहिला ब्याटिङ गर्दै ४८.२ ओभरमा २ सय ३० रन बनाएको नेपालले भारतलाई २०.१ ओभरसम्म रोक्यो।

पटकपटक वर्षाले बिथोलेको खेलमा नेपाली टोलीले चार दिनअघि पाकिस्तानको मुल्तानमा घरेलु टोलीसँग खेल्दा हासिल गरेको अनुभव पूरापूर उपयोग गर्यो।

विश्ववरीयताको शीर्ष स्थानमा रहेको पाकिस्तानविरुद्धको खेलमा नेपाल २ सय ३८ रनअन्तरमा पराजित भएको थियो। टस जितेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ४२ रन बनाएको थियो। जबाफमा २३.४ ओभरमा १ सय ४ रन बनाउँदा नेपालले सबै विकेट गुमाएको थियो।

नेपाल, भारत र पाकिस्तान रहेको एसिया कपको समूह ‘ए’ को अर्को खेलमा शनिबार भारत र पाकिस्तानले वर्षाका कारण अंक बाँडेका थिए। पटकपटक वर्षाले बिथोलेको खेलमा भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदा २ सय ६६ रन बनाएको थियो। तर पालेकेलेमा ठूलो वर्षाका कारण त्यसपछि खेल सम्भव भएन र दुई टिमले अंक बाँडे।

यसअघि ओपनर आसिफ शेखको अर्धशतक प्रेरणामा नेपालले सनसनीपूर्ण सुरुआतका साथ भारतसामु २ सय ३० रनको सम्मानजनक योगफल बनाएको थियो। भारतजस्तो विश्ववरीयताको तेस्रो स्थानमा रहेको महारथीविरुद्ध डटेर प्रस्तुत हुँदा पालेकेलेमा नेपाली ब्याटरहरू ४८.२ ओभरसम्म क्रिजमा थिए। टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि आसिफले ९७ बलमा ८ चौकासहित सर्वाधिक ५८ रन बनाएका थिए। टेस्ट खेल्ने विपक्षीविरुद्ध कुनै पनि नेपाली ब्याटरले बनाएको यो पहिलो अर्धशतक थियो।

आसिफ र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९.५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुआत दिलाएका थिए। कुशल ३८ रन बनाएर आउट भए। त्यस क्रममा कुशलले २५ बल सामना गर्दै २ छक्का र ३ चौका प्रहार गरेका थिए।

यस खेलमा ६ रन बनाएसँगै कुशलले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा १ हजार रनको कोसेढुंगो छोएका थिए। ४६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा कुशलले एक शतक र ६ अर्धशतक प्रहार गरेका छन्। कुशल एकदिवसीय अन्तर्राष्ट्रियमा १ हजार रन पूरा गर्ने तेस्रो नेपाली खेलाडी हुन्। यसअघि कप्तान रोहितकुमार पौडेल र ओपनर आसिफ शेखले यो उपलब्धि हासिल गरेका थिए।

आसिफ र कुशलले दिलाएको राम्रो सुरुआतलाई सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले पनि निरन्तरता दिए।सोमपालले ५६ बलमा दुई छक्का र एक चौकाको मद्दतमा ४८ रन जोडे भने दीपेन्द्रले २५ बलमा ३ चौकासहित २९ तथा गुल्सनले ३५ बलमा ३ चौकासहित २३ रन बनाए। सातौं विकेटका लागि सोमपाल र दीपेन्द्रले ५० रनको साझेदारी गरेका थिए। भारतका लागि रवीन्द्र जडेजा र मोहम्मद सिराजले समान तीन तथा मोहम्मद सामी, हार्दिक पण्ड्या र शार्दुल ठाकुरले समान एक विकेट लिए।

सम्बन्धित खबर