२०८१ मंसिर ११, मङ्गलवार , ०६:३६:५६ बजे

Sajhamanch
'

गाउँगाउँमा सम्मेलन गर्दै नेपाली कांग्रेसः महामन्त्री थापा भन्छन् ८२ पछि अहिलेका नेता दोहोरिँदैनन्

शनिवार, भदौ १६, २०८०

झापा । संघीय निर्वाचन क्षेत्र, प्रदेशसभा क्षेत्र र नगर सम्मेलनलाई तीब्र बनाएको नेपाली कांग्रेस झापाले आज शनिबार ४ नम्बर क्षेत्रीय सम्मेलन, ५ (क) प्रदेशसभा क्षेत्रीय सम्मेलन र मेचीनगरको नगर सम्मेलन सम्पन्न गरेको छ ।

तीनमध्ये मेचीनगर र क्षेत्र नम्बर ४ को सम्मेलनलाई कांग्रेसका महामन्त्री गगनकुमार थापाले सम्बोधन गरेका छन् । ५ (क)को प्रदेशसभा सम्मेलनलाई केन्द्रीय सदस्य प्रदीप पौडेलले सम्बोधन गरेका छन् ।

मेचीनगर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले २०८२ सालबाट अहिलेको पार्टी नेतृत्व बिदा हुने बताए । ‘पार्टीको नेतृत्व ठिक भएन भनेर तपाईंहरू चिन्तै नगर्नुस’ थापाले भने, ‘तपाईँहरू तलको समस्या मिलाउनुस्, हामी माथिको समस्या मिलाउँछौं, ढुक्क हुनुस्, अगामी महाधिवेशनबाट अहिलेको नेतृत्व बिदा हुन्छ ।’

उनले पार्टीमा केही समस्या र अप्ठ्यारा भने अवश्य रहेको बताए । थापाले काङ्ग्रेसमा पुनर्जागरण जरुरी भएको पनि औँल्याए ।

भर्खर आएकाले नयाँले २०८४ को चिन्ता लिएर कोकोहोलो मच्चाइरहेको उल्लेख गरेका थापाले काङ्ग्रेसलाई २०८४ को चिन्ता पटक्कै नभएको दावी गरे । केही समूहले काङ्ग्रेसलाई नै निसाना बनाएर प्रहार गरिरहेको उनको टिप्पणी छ । तर, त्यो कुन समूह हो भन्ने उनले खुलाएनन् ।

‘एमालेलाई सडक किनारामा बसेर समस्या छ भन्दिए हुन्छ, अर्कोलाई टङटङ घण्टी बजाइदिए पुन्छ’, उनले भने,‘ काङ्ग्रेसलाई त्यसो गरेर पुग्दैन, देश बदल्ने जिम्मा काङ्ग्रेसको काँधमा छ ।’

कम्युनिस्टले समाजको विश्वास कहिल्यै नगर्ने जिकिर गरेका महामन्त्री थापाले नेपाली समाजले गुमाएको आत्मविश्वासलाई जगाएर काङ्ग्रेसले देश बदल्ने विश्वास दिलाए । काङ्ग्रेससँग युवा र तन्नेरी पुस्ता रिसाएको बताएका उनले तन्नेरी पुस्तालाई भेटेर फकाउन नेता कार्यकर्तालाई आग्रह पनि गरे ।

काङ्ग्रेस मेचीनगर सभापति सुवेशकुमार पनेरुले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेको सम्मेलनमा सचिवद्वय मनोज घिमिरे र मुकेश लिम्बू र उपसभापति योगेन थापा मगरले १४औँ महाधिवेशन पछि नगर नेतृत्वले गरेका काम, नगरको आगमी योजना र नगर पार्टीको वर्तमान अवस्थाका बारेमा प्रष्ट्याएका थिए ।

सम्मेलनमा काङ्ग्रेस केन्द्रीय सदस्य गोमा भट्टराई, कोसी प्रदेश सदस्य विमल आचार्य, प्रदेश सांसद गोपाल तामाङ, झापा सभापति देउकुमार थेवे, उपसभापति केशवराज पाण्डे र झापा १ का क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले आआफ्ना धारणा राखेका थिए ।

यसैरी क्षेत्र नम्बर–४ को क्षेत्रीय सम्मेलन प्रदेश क का सभापति विनोद ढकालको सभापतित्व र महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा सुरुङ्गामा सम्पन्न भएको छ ।

प्रदेशसभा ख का सभापति ख्यामराज सिटौलाले स्वागत र क्षेत्रीय सचिव रमेश खतिवडाले सन्चालन गरेको सो कार्यक्रममा प्रमुख अतिथि थापा, केन्द्रीय सदस्य गोमा भट्टराई र झापा सभापति देउकुमार थेबे लगायतले मन्तब्य राखेका थिए ।

नेपाली कांग्रेस झापा क्षेत्र नं ५ (क) को प्रदेशसभा सम्मेलनलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य प्रदिप पौडेलले पार्टीबाट जितेका जनप्रतिनिधि र सरकारले जनचाहना अनुसार काम गर्नुपर्नेमा जोड दिएका छन् । नेता पौडेलले पार्टी सरकारमा भएका बेला जनप्रिय कार्य गरेमात्रै आवधिक निर्वाचनमा पार्टीको पक्षमा मत माग्न सहज हुने बताएका हुन् ।

कार्यक्रमको प्रमुख अतिथि रहेका पौडेलले पार्टीले धेरै काम गरे पनि प्रचार नभएको बताउँदै प्रचार–प्रसारमा जोड दिनन उनले आग्रह गरे ।

प्रदेशसभा क्षेत्रीय सभापति जीवन राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीको सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो । कार्यक्रममा पार्टीका झापा उपसभापति केशवराज पाण्डेले मन्तब्य राखेका थिए ।

सम्बन्धित खबर