२०८१ पौष २६, शुक्रवार , ०४:३९:४९ बजे

Sajhamanch
'

जोहानेसवर्गमा आगलागी : २० विदेशीसहित ७६ जनाको मृत्यु

शनिवार, भदौ १६, २०८०

जोहानेसवर्ग । दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँचतले एक भवनमा आगो लाग्दा जलेर ७५ जनाभन्दा बढीको मृत्यु भएको छ । ८८ जना घाइते छन् । शुक्रबार दुई घाइतेको उपचारका क्रममा अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ७६ पुगेको हो ।

स्वास्थ्यमन्त्री जो पहालाका अनुसार ६२ जनाको शरीर पहिचान गर्न नसकिने गरी जलेकाले डीएनए परीक्षणका निम्ति सम्बद्ध निकायलाई निर्देशन दिइएको सञ्चारकर्मीलाई बताए ।

स्थानीय सञ्चारमाध्यमका अनुसार २० विदेशी नागरिकको पनि मृत्यु भएको छ । कामको खोजीमा दक्षिण अफ्रिका आएका मलावी र ताञ्जानियाका आप्रवासीको मृत्यु भएको जनाइएको छ ।

प्रिटोरियास्थित ताञ्जानियाको उच्चायुक्तको कार्यालयले आफ्नो देशका पाँचजनाको जलेर ज्यान गएको पुष्टि गरेको छ ।

केही वर्षअघिसम्म सहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रका रूपमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ ।

सरकारी स्वामित्वको उक्त भवनमा समस्या भएको सन् २०१९ देखि आफूहरूलाई जानकारी रहेको सरकारी अधिकारीहरूले स्वीकार गरेका छन् । घरबारविहीन व्यक्ति कुनै औपचारिक भाडा सम्झौताबिना नै उक्त भवनमा बसेका थिए ।

दक्षिण अफ्रिकाको संसद्ले घटनाको अनुसन्धान गर्न निर्देशन दिएको छ । प्रहरीले पनि आपराधिक मुद्दा दर्ताको तयारी गरेको छ । यद्यपि, कुन निकायलाई विपक्षी बनाइयो भन्नेबारेमा स्पष्ट भएको छैन ।

बिहीबार घटनास्थलको भ्रमण गरेका दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले उक्त दुर्घटना आंशिक रूपमा भवन कब्जा गर्ने र घरबारविहीनलाई त्यहाँ बस्न अनुमति दिने आपराधिक तत्त्वका कारण भएको बताए । उनले महानगरको आवास समस्यालाई सम्बोधन गर्नुपर्नेमा जोड दिँदै राष्ट्रिय एवं स्थानीय सरकारलाई संवदेनशील हुन आग्रह गरे ।

आवास संकट समाधान गर्न सरकार गम्भीर नभएको आरोप लगाउँदै जोहानेसवर्गका पूर्वप्रमुख हर्मन मशाबाले राष्ट्रपति रामाफोसाको आलोचना गरेका छन् । राष्ट्रपतिले यो घटनालाई दुःखदायी भनेर मात्र नपुग्ने भन्दै उनले २५ वर्षदेखि सहरले भोगेको समस्यालाई रातारात सिर्जना भएझैँ प्रस्तुत हुनु आपत्तिजनक भएको बताए ।

दक्षिण अफ्रिकामा घरवारबिहीनहरू विविध कारणले बिग्रेभत्केका र राज्यले परित्याग गरेका भवनमा बलपूर्वक बस्ने गरेका छन् । त्यस्ता घर ‘कब्जा गरिएका भवन’का रूपमा चिनिन्छन् ।

सम्बन्धित खबर