२०८१ मंसिर १४, शुक्रवार , ०३:२६:३३ बजे

Sajhamanch
'

कनकाई हस्पिटलका डाक्टर यादवको दुर्घटनामा मृत्यु

मङ्गलवार, भदौ १२, २०८०

बिर्तामोड । मोरङको उर्लावारीमा आज बिहान ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा कनकाई हस्पिटल बिर्तामोडमा कार्यरत डाक्टर निरज यादवको मृत्यु भएको छ ।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत उर्लाबारीमा भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक डा. यादवको मृत्यु भएको जनाइएको छ ।

आज बिहान ६ः१५ बजे उर्लाबारी–४ स्थित ओमसाई पेट्रोल पम्प नजिकै पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको यादवले चलाएको प्रदेश १–०२–०५२ प ४२४१ नम्बरको मोटरसाइकललाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश ३–००१ क ००९५ नम्बरको टिपरले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका डाक्टर यादवको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका सप्तरी तेरहौता ५ घर भएका २८ वर्षीय डा. यादवको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारेमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका हुन् ।

एमबीबीएस गरेका डा. यादव कनकाई हस्पिटलको इमर्जेन्सीमा कार्यरत थिए । हस्पिटलमा ड्युटी गर्नका लागि घरबाट आउँदै गर्दा उनी दुर्घटनामा परेको बताइएको छ । प्रहरीका अनुसार डाक्टर यादव झापाको कनकाई अस्पताल र उर्लाबारीको अरनिको अस्पतालमा कार्यरत थिए । घरबाट काममा जाने क्रममा उनी दुर्घटनामा परेका हुन् । उनी कुन अस्पतालतर्फ जाँदै थिए भन्ने नखुलेको प्रहरीको भनाइ छ ।

मोटरसाइललाई ठक्कर दिने टिपर र चालक मेचीनगर नगरपालिका ११ का ४४ वर्षीय वीरबहादुर शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खबर