२०८१ पौष १९, शुक्रवार , १०:०७:४४ बजे

Sajhamanch
'

एमसीसी उपाध्यक्ष अलफोर्ड आज नेपाल आउँदै

मङ्गलवार, भदौ १२, २०८०

काठमाडौं । अमेरिकी अनुदान परियोजना एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का उपाध्यक्ष क्यामरन एस अलफोर्ड तीन दिने भ्रमणमा आज अपराह्न नेपाल आउँदैछन्।

एमसीसीको कम्प्याक्ट अपरेसन विभाग प्रमुख आज अर्थ मन्त्रालयमा एमसीसी कार्यान्वयनको औपचारिक कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुग्ने कार्यक्रम छ। ​क्यामरनको भ्रमणलगत्तै अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भान होलेन पनि सेप्टेम्बरको पहिलो हप्ता नेपाल आउने कार्यक्रम तय भइसकेको छ।

उनले अमेरिकी सहयोगमा सञ्चालित एमसीसी, अरु अमेरिकी सहयोगका परियोजना र स्थानीय सांस्कृतिक महत्त्वका क्षेत्रमा भ्रमण गर्ने जनाइएको छ।​ क्यामरनले नेपालमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख राजनीतिक दलका नेताहरुलाई भेटघाट गर्ने कार्यक्रम छ। उनी भदौ १५ मा फर्किने छन्।​ एमसीए नेपालका मिडिया संयोजक पुष्कर माथेमाले औपचारिक कार्यक्रम मार्फत् एमसीसी कार्यान्वयनमा जाने बताए।

सो समारोहसँगै एमसीसी कार्यावन्यनको पाँच वर्षे अवधि सुरु हुनेछ। यदि सहमतिअनुसार समयमा एमसीसी परियोजना सम्पन्न नभएमा त्यसको सम्पूर्ण खर्च नेपाल सरकारले बेर्होनुपर्नेछ।

एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अर्थात् करिब ६० अर्ब रुपैयाँ अनुदान दिनेछ। नेपालले पनि एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब लगानी गर्नुपर्ने सम्झौता छ।

नेपाल र अमेरिकाबीच पाँच वर्षअघि एमसीसी कम्प्याक्टको एमओयूमा हस्ताक्षर भएको थियो। लामो समय विवादमा फसेको एमसीसी नेपाली संसदले अनुमोदन गरेको १८ महिनापछि कार्यान्वयनमा जान लागेको छ। तत्कालीन सरकारले मन्त्रिपरिषदबाट निर्णय गरी २०७६ असार ३० गते अनुमोदनका लागि संसदमा दर्ता गरेको थियो। २०७८ फागुन ८ गते टेबल भएको सम्झौता फागुन १५ गते संसदबाट अनुमोदन भयो।

एमसीसी परियोजना कार्यान्वयनमा जानुअघि अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु गत जुलाईको दोस्रो साता नेपाल आएका थिए। त्यसैगरी यसअघि एमसीसीकी उपाध्यक्ष फातिमा सुमारले २०७८ को भदौमा नेपाल भ्रमण गरी संसदबाट एमसीसी जतिसक्दो चाँडो संसदबाट अनुमोदन गर्न नेपाली नेताहरुलाई दबाब दिएकी थिइन्।

सिनेटर होलेनले पनि नेपालमा रहँदा सरकारी अधिकारी, युवा नेता, सांसद, नागरिक समाजका प्रतिनिधि, गैरनाफामूलक संस्थाका प्रतिनिधि र व्यवसायीलगायतसँग भेट गर्ने कार्यक्रम छ।

सम्बन्धित खबर