२०८१ चैत ३, आइतवार , ०४:०२:३९ बजे

Sajhamanch
'

लण्डनमा हजारौँले हेरे नेपाली मेला

सोमवार, भदौ ११, २०८०

लण्डन । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ भन्ने नारासहित लन्डनस्थित केम्प्टन पार्क रेसकोर्सको खुल्ला मैदानमा १४ औं नेपाली मेला सम्पन्न भएको छ।

मेलामा विभिन्न संघसंस्थाहरुका २९ समूहले आआफ्नो कला संस्कृतिको परिचय झल्किने झाँकीहरू प्रस्तुत गरेका थिए।

तमुधिं युकेको आयोजनामा लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा आइतबार सम्पन्न मेलामा नेपाली व्यापार व्यवसायलाई प्रवर्धन गर्ने उद्देश्यले मेलामा नेपाली खाना, हस्तकला र खाद्य सामाग्री जस्ता विभिन्न नेपाली उत्पादनसहितको करिब तीन दर्जन भन्दा बढी विक्री स्टलहरु राखिएका थिए।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न मेलामा परम्परागत झाँकी, नृत्यलगायतका सांस्कृतिक प्रस्तुति साथै नेपालबाट आएका नेपाली कलाकारहरुले पनि साङ्गीतिक प्रस्तुति दिए।

मेलामा सहभागी झाँकीहरूलाई प्रोत्साहन स्वरूप उत्कृष्ट झाँकी प्रदर्शन गर्ने पहिलो समूहलाई ५ सय, दोस्रोलाई तीन सय र तृतीय हुनेलाई २ सय पाउण्ड प्रदान गरियो।

यस्तै सान्त्वना पुरस्कार स्वरूप तीन समूहलाई २ सय पाउण्डका दरले पुरस्कृत गरिएको थियो।

झाँकी र सांस्कृतिक नृत्यमा उत्कृष्ट हुने पहिलो टिमलाई ११ सय पाउण्ड नगदसहित एम्बासडर कप तथा तीन सय पाउण्डसहित एनआरएनए कप र ट्रफी, रनरअपलाई ७ सय पाउण्ड एवं तृतीय हुने टिमलाई ५ सय पाउण्ड प्रदान गरिएको थियो।

नेपाली मेलामा २०२३ तथा १४ औं नेपाली मेलाको एम्बासिडोर कप किरात राई यायोख्खा युकेले जितेको छ। नेपाली मेलामा घानद्रुक समाज युके उपविजेता बन्न तथा दोस्रो स्थान सुरक्षित गर्न सफल भए भने पास पुच गुठी युकेले तेस्रो स्थान सुरक्षित गर्न सफल भयो।

यस वर्षको ‘तमुधि युके प्रिसिडेन्ट च्याइस’ पुरस्कारद्वारा पास पुच गुठी युके पुरस्कृत भएको छ। झाँकीमा तामाङ समाज युके, चार भन्ज्याङ तमु समाज युके र स्याङ्जा समाज युकेले शान्तवना पुरस्कार प्राप्त गरेका छन् भने नृत्यतर्फ तमु समाज युके, किरात याक्थुम चुम्लुङ्ग र पास पुच गुठीले शान्तवना पुरस्कार पाए।

मेलामा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाको सांसद खम बहादुर ९खमबिर० गर्बुजा, बंगलादेश, भारत, र पाकिस्तानका राजदुतहरु, एनआरएन अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष कुल आचार्य, सगरमाथा आरोही हरि बुढामगर र दिया पुन लगायत विभिन्न देशका कूटनीतिक नियोगका पदाधिकारीहरु, नेपाली राजदूतावासका उपनियोग प्रमुख रोशन खनाल, दूतावासका अन्य काउन्सिलरहरु, एनआरएन युकेका अध्यक्ष हितकाजी गुरुङ लगायत बेलायतस्थित विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

कार्यक्रममा स्थानीय तथा नेपालबाट आएका कलाकारहरुले आआफ्नो प्रस्तुति दिएका थिए।

सम्बन्धित खबर