२०८२ असार २९, आइतवार , ०१:२०:२९ बजे

Sajhamanch
'

सहारा नेपाल साकोसको विस्तारित भेलामा ‘बिएण्डबि’को अवधारणा माथि चर्चा

आइतवार, भदौ १०, २०८०

झापा । सहारा नेपाल साकोस लिमिटेडको ११औं विस्तारित बैठक शनिबार बिर्तामोडमा सम्पन्न भएको छ । कोशी प्रदेशका ६ वटा जिल्लमा कार्यक्षेत्र विस्तारित संस्थाको ८० वटा सेवा केन्द्रबाट उपसमितिका पदाधिकारी र सदस्यहरु बैठकमा सहभागी थिए ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा आयोजित विस्तारित बैठकमा कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले सहारा नेपालको विगत र वर्तमानको विषयमा चर्चा गरेका थिए ।

कार्यकारी प्रमुख गिरीले विस्तारित बैठकमा प्रतिवेदन प्रस्तुत गर्दै कर्जा जोखिम बढिरहेकोमा सबैलाई सचेत गराए । गत आर्थिक वर्षको ब्याजमात्र ११ करोड रुपैयाँभन्दा बढी उठ्न बाँकी रहेकाले नाफाबाट उत्ति नै रकम प्रोभिजन गर्नुपरेको उनको भनाई छ ।

वि.सं. २०८० मा संस्थाको वासलात २५ अर्बको बनाउने प्रक्षेपण गरेको सहाराले १५ अर्बमा सिमित रहनु परेको सुनाउँदै कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले केही वर्षभित्रै लक्ष्य पूरा गर्न समिति उपसमिति एवम् कर्मचारीहरुले ससक्त भएर काम गर्नुपर्ने आवश्यकता औंल्याए ।

सहारा नेपाललाई विश्वासको अर्को नामको संज्ञा दिँदै कार्यकारी प्रमुख गिरीले सानो बचत सानो ऋणको नीति लिएको जानकारी दिए । चालू वर्ष सदस्य बृद्धि अभियान चलाएर युवालाई संस्थामा भित्राउने लक्ष्य लिइएको जनाउँदै उनले युथ एकाडेमी खोलेर शिक्षा, स्वास्थ्य, खेलकुद आदिमा अग्रसरता गराउने पनि जनाएका छन् ।

सहारा नेपालमा बि एण्ड बिको अवधारणा अगाडि सार्दै उनले सहकारी एकीकरण, सदस्य विस्तार, बचत र जगेडा कोषमा वृद्धि, कर्जा जोखिम शून्य र कर्मचारीहरुलाई क्षमतावान बनाउने अभियानलाई सार्थकता प्रदान गर्ने बताएका छन् ।

सेयर डिभिडेन्टलाई भन्दा सुविधालाई ख्याल गर्न सुझाब दिँदै कार्यकारी प्रमुख गिरीले गतवर्ष र चालू वर्ष संस्थाले बाह्य ऋण घटाउँदै दुई अर्ब हाराहारीबाट १५ करोडमा झारिएको जानकारी दिए । गतवर्ष मात्र संस्थाले १ अर्ब १४ करोड रुपैयाँ सावाँ र १५ करोड रुपैयाँ ब्याज तिरेर बाह्य ऋण घटाउँदै लगिएको उनले जनाए ।

विस्तारित बैठकमा संस्थाका सहायक निर्देशक ईश्वरप्रसाद भट्टराईले २०८० असार मसान्तमा संस्थाको समग्र वित्तीय अवस्थिति बारे प्रकाश पारेका थिए । २०८० असार मसान्तमा सहारा नेपालको सदस्य संख्या १ लाख ५७ हजार ६०६ जना रहेका र सेयर पुँजी एक अर्ब ६३ करोड १४ लाख ५२ हजार १०० पुर्याइएको उनले जनाए ।

उनले संस्थाको साधारण जगेडा कोषमा १ अर्ब २३ करोड ५७ लाख ५३ हजार र अन्य कोषहरुमा ३७ करोड ७४ लाख १६ हजार र कार्यक्रम कोषहरुमा ४५ करोड ११ लाख ३१ हजार रुपैयाँको अपरिस्कृत वासलात सुनाए ।

संस्थामा १० अर्ब ९७ करोड ९० लाख ४७ हजार निक्षेप रहेको तथा ५७ करोड २८ लाख रुपैयाँ बाह्य कर्जा रहेको जनाए । बाह्यकर्जा साउन महिनामा नै १५ करोड हाराहारीमा झारिएको जनाइएको छ ।

संस्थाको कर्जा कारोबार अघिल्लो वर्षको १३ अर्बबाट घटेर ११ अर्ब २० करोड ५५ लाख ७७ हजारमा झरेकोले सुधार गर्न आवश्यकता औंल्याउँदै सहायक निर्देशक भट्टराईले भाका नाघेको कर्जा ४४ करोड र प्रोभिजन ११ करोड पुगेकोले यसलाई शून्यमा झार्न सेवा केन्द्र समितिको पनि सहयोगको अपेक्षा राखिएको जानकारी दिए ।

संस्थाले संरक्षित पुँजी फिर्ता कोषमार्फत चालू वर्ष ७ करोड ४२ लाख ७८ हजार ३३५ रुपैयाँ वितरण गरेको अवगत गराउँदै सहायक निर्देशक भट्टराईले ऋणको ब्याजमा ४ करोड ४५ लाख र बचतको ब्याजमा करिब ३ करोड फिर्ता गरिएको जनाए ।

संस्थाका उपनिर्देशक दिनेशबहादुर निरौलाले सञ्चालन गरेको सो विस्तारित बैठकमा उनले सेवा केन्द्र उपसमितिहरुको जिम्मेवारी र कार्ययोजनाका बारेमा प्रकाश पारेका थिए ।

विभिन्न सेवा केन्द्रमा नियुक्त उपसमितिका संयोजक र सदस्यहरुलाई सम्मान गरिएको थियो । यसैगरी अघिल्लो आर्थिक वर्षमा दिइएको नाफाको लक्ष्य पूरा गरेका एवम् उठ्न बाँकी ब्याज शून्य बनाउने सेवा केन्द्र सञ्चालन उपसमितिका संयोजक र सदस्यहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

सो कार्यक्रममा सहारा साकोस शिक्षा सदनका छात्राहरुले विभिन्न गीतमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाएका थिए ।

सम्बन्धित खबर