२०८२ जेठ २, बिहिवार , ०२:०३:१७ बजे

Sajhamanch
'

झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक १३ बुँदे निर्णय गर्दै सम्पन्न

आइतवार, भदौ १०, २०८०

सूर्योदय (इलाम) । झापा जिल्लाका १५ वटै पालिकाका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठक तथा सिकाइ आदानप्रदान विभिन्न १३ बुँदे निर्णय गर्दै शनिबार इलामको सूर्योदय नगरपालिका हर्कटेमा सम्पन्न भएको छ ।

समन्वय समितिका संयोजक बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षता, रोङ गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास)को प्रमुख आतिथ्य तथा उपाध्यक्ष विष्णुमाया खवासको विशेष आतिथ्यमा भएको बैठकमा पालिकाको बीच सिकाई आदानप्रदान गरिएको थियो ।

बैठकमा पालिकाले बनाउनुपर्ने नीति–कानून, उपप्रमुख–उपाध्यक्षहरुको अधिकार माथि भएको हस्तक्षेप, पालिका बीचको समन्वय, साझेदारी, स्थानीय उत्पादनको प्रबद्र्धन लगायतका विषयमा निर्णय गरेको हो । बैठकमा सबै पालिका उपप्रमुख उपाध्यक्षहरुले आफ्नो पालिकाका उपलब्धि, असल अभ्यासबारे रिपोर्टिङ गर्नुका साथै समस्याहरु खुलेर बताएका थिए ।

पालिकाहरुबीच सिकाई आदानप्रदान र उपप्रमुख र उपाध्यक्षहरुले आफ्नो जिम्मेवारीलाई प्रभावकारी रुपमा सम्पादन गर्नका लागि टेवा पुर्याउने उद्देश्यले उपप्रमुख तथा उपाध्यक्षहरुको समन्वय समिति बनाइएको हो । सञ्जालको बैठक हरेक दुई महिनामा हुने गरेको छ । समितिमा १५ वटै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरु सदस्य रहेका छन् ।

समितिले अन्तर जिल्ला पालिका बीच पनि सिकाई आदान प्रदानको अवसर लिएको छ । यसक्रममा रोङ गाउँपालिकामा भएका असल अभ्यासबारे जानकारी लिनुका साथै झापाका पालिका उपप्रमुख उपाध्यक्षहरुले त्यहाँको गुन्द्रुक तथा सिस्नो प्रशोधन उद्योगको अवलोकन गरेका थिए ।

समन्वय समितिका ताजा निर्णयहरुः

नागरिकको मौलिक हकको रुपमा रहेको स्वास्थ्य अधिकार ग्यारेन्टी गर्न स्वास्थ्य नीति–कानून बनाउन बाँकी पालिकामा उक्त नीति–कानून बनाउने, बनिसकेका पालिकामा प्रभावकारी रुपमा कार्यान्वयन गर्ने, कानून बनाउँदा आधारभूत विषयमा एकरुपता कायम गर्ने समितिले निर्णय गरेको छ । क्लिनिकल हेल्थसँगै पब्लिक हेल्थलाई समेत उत्तिकै प्राथमिकता दिएर कार्यक्रम लागू गर्ने निर्णय समितिले गरेको छ ।

शिक्षा नीति–कानून बनाउन बाँकी पालिकाले बनाउने, बनाएकाले कार्यान्वयनमा लैजाने निर्णय समितिले गरेको छ । शिक्षाका आधारभूत विषयमा जिल्लाभर एकरुपता कायम हुने गरी शिक्षा सम्बन्धी कानून बनाउने समितिको निर्णय छ । शिक्षालाई प्रविधिमैत्री बनाउने, शिक्षकले अनिवार्य प्रविधिको ज्ञान हासिल गर्ने र त्यसको आवश्यक व्यवस्था मिलाउने निर्णय समितिले गरेको छ ।

पछिल्लो समय शिवसताक्षी नगरपालिकाका प्रमुख र कमल गाउँपालिकाका अध्यक्षबाट कानूनी व्यवस्था लत्याउँदै उपप्रमुख–उपाध्यक्षले पाउनुपर्ने कार्यवाहकको जिम्मेवारी उहाँहरुलाई नदिई वडाध्यक्षलाई दिइएको घटनाप्रति समन्वय समितिले ध्यानाकर्षण भएको जनाएको छ । कानूनले प्रत्याभूत गरेका उपप्रमुख–उपाध्यक्षहरुको अधिकार माथि हस्तक्षेप नगर्न, कुण्ठित नगर्न र विगतका कमजोरी नदोहोर्याउन सबै पालिका प्रमुख–अध्यक्षहरुलाई उक्त समन्वय समितिले अपिल गरेको छ ।

सीमित स्रोत तथा उपलब्ध जनशक्तिबाट प्रभावकारी काम गर्न, पालिकाबीचको अन्तर सम्बन्ध घनिष्ट रुपमा अघि बढाउन पालिकाहरु बीच साझेदारीमा सञ्चालन गर्न सकिने काम तथा कार्यक्रमको पहिचान गरी कार्यान्वयन गर्ने समितिले निर्णय गरेको छ ।

फोहोर व्यवस्थापन, नदी तटबन्ध, हात्ती समस्या, बारुणयन्त्र, शववहान, एम्बुलेन्स, सर्पदंश उपचार केन्द्र, मेची प्रादेशिक अस्पतालको राम्रो व्यवस्थापनमा साझेदारी र सामुहिक जिम्मेवारी लिने समितिले निर्णय गरेको छ । त्यस्तै भारतबाट भित्रिने खान अयोग्य माछा, विषादियुक्त तरकारीलाई विस्थापित गर्ने, लागूऔषध दुव्र्यसनीविरुद्ध अभियान सञ्चालन गर्ने, सूर्तीजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लगाउन सबै पालिकाहरुले आवश्यक निर्णय लिएर अघि बढ्नुपर्नेमा समितिले जोड दिएको छ ।

सडक मानव बालबालिकालाई सामुहिक रुपमा उद्धार कार्यमा ध्यान दिने, उद्धार गरिएका मानवलाई राखिँदै आएको मानव सेवा आश्रमलाई थप व्यवस्थित गर्न सहयोग गर्ने समितिले निर्णय गरेको छ ।

स्थानीय उत्पादनको विकास, विस्तार, बृद्धि, प्रबद्र्धन, ब्रान्डिङ तथा बजारीकरणका लागि आवश्यक नीति कार्यक्रम बनाएर अघि बढ्ने निर्णय समितिले लिएको छ । तोरी, फापर, मकै, गहुँ लगायतका कृषिजन्य उत्पादनको ‘जोन’को विकास र प्रबद्र्धन गर्ने, जग्गा बाँझो नराख्ने नीति अवलम्बन गर्ने समितिले निर्णय गरेको छ ।

कम लागतमा हुने नगदे बाली विस्तार गरी नागरिकको आय–आर्जन बृद्धि गर्न पािलकामा सुपारी, नरिबल, सजिवन, तरुल, बाँसको तामा लगायतको उत्पादनमा बृद्धि गर्न ती प्रजातिका विरुवा रोप्ने कार्यक्रम अभियानको रुपमा सञ्चालन गर्न सबै पालिकालाई आग्रह गर्ने समितिले निर्णय गरेको छ ।

प्रत्येक पालिकाका प्रमुख–अध्यक्ष, उपप्रमुख–उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखबीचमा ३/३ महिनामा आपसी समस्या समाधान र अन्तरसम्बन्ध बृद्धिका लागि संयुक्त समन्वय बैठक बस्ने समितिले निर्णय गरेको छ । सोका लागि पहिलो बैठकको संयोजन र व्यवस्थापन बिर्तामोड नगरपालिकाले गर्नेछ ।

उपप्रमुख–उपाध्यक्षहरुको कार्यसम्पादन प्रभावकारी बनाउन अत्यावश्यक विषयको ज्ञानसिप तथा समस्या समाधानका लागि साझा विषय पहिचान गरी विज्ञको सहजीकरणमा प्रशिक्षण–कार्यशाला सञ्चालन गर्ने समितिले निर्णय गरेको छ । पहिलो चरणमा झापा र इलामका पालिका उपप्रमुख–उपाध्यक्षहरुका लागि विकास निर्माणका काममा गुणस्तर र अनुगमन विषयमा प्रशिक्षण सञ्चालन गर्ने सोको व्यवस्थापनका लागि रोङ गाउँपालिकालाई अनुरोध गर्ने समितिले निर्णय गरेको छ ।

झापाका पालिकाका उपप्रमुख–उपाध्यक्षहरुको समन्वय समितिले गरेका निर्णय कार्यान्वयनका लागि जिल्लाका सबै पालिका प्रमुख–अध्यक्ष र कार्यपालिकालाई अनुरोध गर्ने बैठकले निर्णय गरेको छ ।

संयोजकमा रेगिना भट्टराईः

झापा जिल्लाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको बैठकले आगामी समयका लागि दमक नगरपालिकाका उपप्रमुख रेगिना भट्टराई प्रसाईंलाई संयोजकमा सर्वसम्मत चयन गरेको छ ।

निवर्तमान संयोजक नगेन्द्रप्रसाद संग्रौलाले नयाँ संयोजक भट्टराईलाई माइन्युटका साथ जिम्मेवारी हस्तान्तरण गरेका छन् ।

समितिको आगामी वैठक आवासीय रुपमा धनुकटाको भेडेटारमा गर्ने समितिले निर्णय गरेको छ ।

सम्बन्धित खबर