२०८१ माघ ३, बिहिवार , ११:१४:११ बजे

Sajhamanch
'

इस्टु भद्रपुरले विकृति रोक्न माग गर्दै शिक्षा शाखालाई बुझायो ज्ञापन

शुक्रवार, भदौ ८, २०८०

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले शिक्षा क्षेत्रमा शोषण र विकृति बढेको भन्दै अबिलम्ब रोक्न माग राखेर नगर शिक्षा शाखालाई ज्ञापनपत्र बुझाएको छ ।

नगर समितिका अध्यक्ष विदुर ढुंगानाको नेतृत्वमा गएको टोलीले संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारी माथि चरम शोषण बढिरहेको तथा नीति नियम मिच्ने प्रवृत्ति बृद्धि भएकोले नियामक शिक्षा शाखाले कडा कदम चाल्नु पर्ने माग राखेर ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र शाखाका कर्मचारी योगेन्द्र पौडेलले बुझ्दै संस्थागत विद्यालयका शिक्षक कर्मचारीका माग पूरा गराउन सम्बन्धित ठाउँमा पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

पछिल्लो समय सरकारले तय गरेका नीति नियम विपरित संस्थागत विद्यालय सञ्चालकहरू प्याब्सन र एन–प्याब्सनको नाममा शोषण र विभेदमा लाग्दा शिक्षक कर्मचारीमाथि अन्यायमा पर्दै गएको ठहर गरिएको छ ।

ज्ञापनपत्रमा संस्थागत विद्यालय नाफामुखी मात्र बनेको, सामाजिक दायित्वबाट भाग्न खोजेको, प्रचलित ऐन कानुन अनुसार नचलेको, सरकारले स्वीकृत नगरेका पाठ्यपुस्तक अनावश्यक प्रयोग गरिरहेको, सरकारी सेवाका शिक्षक कर्मचारी निजी विद्यालयमा काम गर्ने गर्दा संस्थागतमा मात्र काम गर्ने शिक्षक कर्मचारीमाथि आर्थिक शोषण बढिरहेको लगायत विकृति अन्त्य गरी संस्थागत विद्यालयलाई संस्थागत हुने वातावरण निर्माण गर्न माग गरिएको छ ।

सम्बन्धित खबर