मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले पूर्वपश्चिम (महेन्द्र) राजमार्ग अन्तर्गत काँकरभिट्टा–चारआली खण्डमा सडक मिचेर बनाइएका सबै संरचनाहरु हटाउने भएको छ ।
सडक क्षेत्राधिकार भित्र अनधिकृत रुपमा निर्माण गरिएका सवारी साधनको पार्किंङ स्थल, भवन, व्यवसायिक टहराहरु तथा घुम्ती पसलहरु हटाउन नगरपालिकाले निर्देशन गरेको हो ।
मेचीनगरको भूगोल काँकरभिट्टा–चारआली खण्डमा यस्ता अवैध संरचनाहरुका कारण राष्ट्रिय राजमार्गको आवागमनमा कठिनाई हुनुका साथै उच्च दुर्घटनाको जोखिम देखिएको हो । सडकको मध्यविन्दुबाट दाँयाँबायाँ २५–२५ मिटर भित्र निर्माण गरिएका पार्किंङ स्थल, भवन, व्यवसायिक टहराहरु तथा धुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु हटाउन सूचनामा भनिएको छ ।
नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले हस्ताक्षर गरेको उक्त सूचनामा आजको मितिले १५ दिनभित्र यस्ता संरचनाहरु हटाउनु पर्ने भनिएको छ ।
उल्लिखित समय सिमा भित्र मापदण्ड पालना नगरी निर्माण भएका पार्किंङ स्थल, भवन, व्यवसायिक टहराहरू तथा घुम्ती पसलहरु लगायतका सम्पूर्ण भौतिक संरचनाहरु नहटाएमा “स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम नगरपालिका आफैले हटाई उक्त कार्य गर्दा लागेको खर्च सम्बन्धित व्यक्ति संस्थाबाट असुल उपर गर्ने समेत सूचनामा उल्लेख छ ।