२०८१ मंसिर १५, शनिवार , १२:२४:०७ बजे

Sajhamanch
'

अमेरिकाको हवाइमा आगलागी, नेपालीहरू सुरक्षित

आइतवार, भदौ ३, २०८०

वष्टन । अमेरिकाको हवाइ राज्यको माउइ टापूस्थित लहाइना सहरमा डढेलोका कारण फैलिएको आगलागीमा कोही पनि नेपालीहरु प्रभावित नभएको त्यहाँस्थित नेपाली संस्थाले जनाएको छ । सोसाइटी अफ नेपलीज इन हवाइका उपाध्यक्ष मनध्वज राईका अनुसार डढेलो लागेको माउइ टापूमा कोही पनि नेपाली घरपरिवारको बसोबास छैन ।

त्यो टापूमा एउटा नेपाली परिवार बस्ने गरेको भए पनि उनीहरु दुईवर्ष अगाडि हवाइ राज्यको राजधानी होनोलुलु बसाइ सरेको राइले बताए । क्षतिग्रस्त टापू माउइ होनोलुलुबाट करिब १६१ किलोमिटर टाढा रहेको छ ।

होनोलुलुबाट त्यो टापूमा जहाजमा आधा घण्टामा पुग्न सकिने राईले बताए । टापूहरुको राज्य हवाइमा करिब २ सय ५० जति नेपालीहरुको बसोबास रहेको जनाएको छ । विभिन्न संघसंस्थाले राहतका लागि रकम संकलन र लत्ता कपडा संकलन गर्दै आएकामा नेपालीहरुले राहत प्रदान गरेका छन् ।

राईका अनुसार सोसाइटी अफ नेपलीज इन हवाइको पहलमा पनि राहतका लागि रकम संकलन र अत्यावश्यकीय वस्तुहरु संकलनको थालनी गरिएको छ । माउइ काउण्टीका अधिकारीहरुले दिएको पछिल्लो जानकारीअनुसार शनिबार अबेरसम्म कम्तीमा १ सय १४ जना मानिसहरुको मृत्यू भइसकेको छ भने हराएकाहरुको खोजी कार्य जारी रहेको छ ।

काउण्टीले जारी गरेको प्रेस विज्ञप्तिमा ७८ प्रतिशत क्षतिग्रस्त क्षेत्रमा खोजीकार्य गरिसकिएको छ । शुक्रबार राति अपडेट दिने क्रममा हवाइका गभर्नर जश ग्रीनले एक भावनात्मक सम्बोधनमा लहाइना सहर फेरि उठ्ने छ भन्दै अगाडि भने, “यो हाम्रो सहनशीलता, मूल्यमान्यता र ओहानाको पवित्र सम्बन्धको प्रतीक हुनेछ र जब यो पुनर्निमाण हुनेछ हामीले गुमाएका प्रियजनको जिवित स्मारक हुनेछ ।”

आगलागीले लहाइनाको २ हजार १ सय ६८ एकड जमिनमा रहेका हजारौं संरचनाहरु, राज्यको ल्याण्डमार्क मानिने ऐतिहासिक बरगदको रुखहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् । त्यसैगरी ऐतिहासिक फ्रन्ट स्ट्रिटका धेरै भवनहरु, पसलहरु र रेस्टुरेन्टहरु आगोको लप्कामा परेको एशोसियटेट प्रेसले जनाएको छ । राष्ट्रपति जो बाइडेन र फस्र्ट लेडी जिल बाइडेन आगलागीग्रस्त क्षेत्र लहाइनामा सोमबार जाने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबर