२०८१ पौष १२, शुक्रवार , ०८:११:४३ बजे

Sajhamanch
'

‘पेन प्लस’ कार्यक्रमका बारेमा छिमेकी पालिकासँग दमक नगरपालिकाको छलफल

बिहिवार, साउन ३२, २०८०

दमक । नसर्ने रोगको जोखिम व्यवस्थापन तथा न्यूनीकरणका लागि दमक अस्पतालमा सञ्चालन गरिएको ‘पेन प्लस’ कार्यक्रमको बारेमा आज बुधबार सरोकारवालसँग छलफल गरिएको छ ।

मुटु, मधुमेह, श्वास प्रश्वास, रक्तचाप, क्यान्सर, हृदयाघात, सिकलसेल एनिमियाजस्ता नसर्ने रोगको परीक्षण, उपचार र औषधि लगायतको सेवा यस कार्यक्रम अन्तर्गत विरामीले निःशुल्क पाउने गरेका छन् । सोही सेवाका बारेमा दमक नगरपालिकासहित आसपासका पालिका प्रमुख तथा प्रतिनिधिहरु बीच छलफल गरिएको हो ।

दमक नरपालिकाका प्रमुख रामकुमार थापाको अध्यक्षतामा भएको छलफल कार्यक्रममा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)को संयोजनमा दमक अस्पतालमा सो सेवा सुरु भएको बताइयो । किओचका अध्यक्ष प्राध्यापक डाक्टर भगवान कोइरालाले नेपालमा नसर्ने रोगका कारण अकालमा मृत्यु हुने गरेको तथ्यांकका आधारमा सेवा सुरु गरिएको बताए ।

सो कार्यक्रमले प्रदान गर्ने सेवाबाट उल्लेखित रोगका बिरामीलाई उपचारमा सहज हुने डा. कोइरालाले बताएका छन् । अहिले नेपालमा हुने मृत्युहरु मध्ये ७१ प्रतिशत मृत्यु नसर्ने रोगहरूकै कारण हुने गरेको तथ्याङ्क प्रस्तुत गर्दै उनले यस्ता रोगहरु नेपालको स्वास्थ्य क्षेत्रमा ठूलो चुनौतीका रूपमा आएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभागको सहकार्यमा सो कार्यक्रम लागू भएको पनि डा. कोइरालाको भनाई छ ।

कार्यक्रममा दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले मुटु, सुगर, प्रेसर, पाठेघरको मुखको क्यान्सरजस्ता नसर्ने रोगहरूको अनुसन्धानात्मक उपचार गर्नका लागि दमक अस्पतालमा कार्यक्रम सञ्चालन भइरहेको भन्दै यसबाट लाभ लिन सबैमा आग्रह गरिन् । सो कार्यक्रमले नसर्ने रोगबाट अहिले भइरहेको मृत्युको संख्या घटाउन सकिने अपेक्षा लिइएकोले पनि यसमा सहकार्यका लागि सबै पालिकाहरुसँग उनले आग्रह गरेकी हुन् ।

कार्यक्रममा मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेल, मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष बबिकुमार राई, ईलामको चुलाचुली गाउँपालिकाका अध्यक्ष राजेन्द्र केरुङ, झापाको गौरीगञ्ज गाउँपालिकाका उपाध्यक्ष पुजनकुमारी न्यौपाने लगायतले विलासी जीवन शैलीका कारण नसर्ने रोगको प्रकोप बढिरहेको बताउँदै उपचार सुविधा विस्तारको सहकार्य गर्न आफूहरु तयार रहेको बताएका थिए ।

सम्बन्धित खबर