२०८१ माघ १३, आइतवार , ०८:५९:३९ बजे

Sajhamanch
'

दर्ता र ईजाजत बिनै सञ्चालनमा हो, उत्तरदायित्व साकोस !?

बिहिवार, साउन ३२, २०८०

भद्रपुर । झापाको भद्रपुर १० विपी चौकमा दुई वर्षदेखि सञ्चालनमा रहेको उत्तरदायित्व बचत तथा ऋण सहकारी संस्था बिना दर्ता, बिना इजाजत निर्वाध चलिरहेको पाइएको छ ।

कार्यालयको साइनबोर्डमा स्थापना २०७० लेखेर टाँगिएको भए पनि सो सहकारी कहाँ दर्ता भएको, मुख्य कार्यालय कहाँ छ अनि सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिमा रहेका व्यक्ति को को हुन् भन्ने जानकारीसमेत त्यहाँ कार्यरत कर्मचारी बताउन सक्दैनन् ।

संस्थाको बारेमा यथार्थ र पर्याप्त जानकारी दिन नसक्ने कर्मचारीको भरमा सयौं निक्षेपकर्ताबाट रकम संकलन गर्दै आएको सहकारीले बचत फिर्ता गर्न नसकेपछि भद्रपुर १० नम्बर वडा कार्यालयले खोजी गर्दा इजाजतको प्रमाण नपाइएको हो ।

स्थानीय सरकारसँग कुनै अनुमति लिएको नपाइए पछि भद्रपुर नगरपालिकाको सहकारी शाखा प्रमुख नेत्र पोखरेल तथा भद्रपुर १० का वडासचिव मनकुमार डाँगीको टोलीले कार्यालय मै गएर कागजपत्र खोजी गर्दा त्यहाँ रहेकी संकलक कर्मचारीले केही पनि देखाउन नसकेको वडा सचिव डाँगीको भनाई छ । उनका अनुसार संस्थाका व्यवस्थापकलाई भदौ १ गते शुक्रबार १० बजेभित्र सम्पूर्ण कागज पत्र लिएर वडा कार्यालयमा आउन संकलक कर्मचारी मार्फत जानकारी दिइएको छ ।

पछिल्लो दुई महिनायता निक्षेपकर्ताले आफ्नो रकम फिर्ता माग्दा पुराना संकलक कर्मचारी काम छोडेर अन्यत्रै गएका छन् । नयाँ कर्मचारीका रूपमा एकजना संकलक देखिए पनि अन्य जिम्मेवार व्यक्ति नभेटिँदा अधिकांश निक्षेपकर्ताको रकम फिर्ता हुन नसकेको पीडितहरूको गुनासो छ ।

डेढ वर्षयता टोलटोलमा रहेका बेरोजगार तथा आर्थिक रूपमा कमजोर रहेका व्यक्तिलाई राम्रो तलब दिने बहाना बनाएर आफन्त तथा छरछिमेकीलाई सदस्य बनाउन लगाई रकम संकलन गर्दै आएको सहकारीमा तीन महिनायता व्यवस्थापक समेत नरहेको एक निक्षेपकर्ताले बताएका छन् ।

तोकिएको तलब समयमा नै नपाएपछि पुराना संकलक कर्मचारी काम छोडेर अन्यत्र गइसकेकाले उनीहरूको भरमा रकम जम्मा गर्ने बचतकर्ताको बचत रकम फिर्ता हुन नसकेको पीडित निक्षेपकताको गुनासो छ ।

सहकारी संस्थाहरुको नियमन पालिकास्तरबाट हुन थालेपछि शाखा सञ्चालनका नाममा केही व्यक्तिहरुले ठगी गरिरहेको आशंका उत्पन्न भए पनि निक्षेपकर्ताबाट वास्तविक जानकारी नपाउँदा अभियानले पनि ठोस काम गर्न नसकेको जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष विपी भट्टराई बताउँछन् ।

बचतकर्ताहरुले आफ्नो पैसा कस्तो ठाउँमा जम्मा गर्दैछु भनेर बुझेर मात्र कारोबार गर्न उनको सुझाव छ । उत्तरदायित्व साकोसको विषयमा जानकारी प्राप्त भए पछि अब वास्तविकता बुझेर अभियान पनि एक्सनमा जाने उनले बताए ।