काठमाडौं । देशका केही भू–भागमा गएरातिबाट भारी वर्षा भइरहेको छ । सिन्धुपाल्चोक, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, नवलपरासी, रूपन्देही, दाङ, बर्दिया, दार्चुलामा भारी वर्षा भएको हो । केही जिल्लामा अहिले पनि भारी वर्षा भइरहेको छ ।
सिन्धुपाल्चोकको गुम्थाङ, धाप, भोताङलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको छ । मेल्म्ची नदी, नकोटेको बाढीमापन केन्द्रमा जलसतह बढेको छ । मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।